काठमाडौँ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाउने भएको छ । विभागले मङ्गलवार (भोलि) देखि काठमाडौँ उपत्यकामा १० वटा विशेष टोली परिचालन गरी अनुगमनलाई व्यापक बनाउन लागेको हो ।विभागका सूचना अधिकारी अनिल किराँतीका अनुसार अहिलेसम्म बजारमा ४ वटा टोलीले मात्र अनुगमन गरिरहेकोमा भोलिदेखि थप मन्त्रालयबाट आएका कर्मचारीसहित करिब ४० जनाको १० वटा टोली खटाइनेछ । विभागले उपत्यकाका १३ वटा क्षेत्र निर्धारण गरी टोली परिचालनको तयारी गरेको छ।
पछिल्ला दिनमा सडक अवरुद्ध हुँदा खाद्यान्न ढुवानीमा समस्या आएको र यसै मौकामा उपभोक्ताले आवश्यकताभन्दा बढी खाद्यान्न भण्डारण (स्टक) गर्ने प्रवृत्ति देखिएको छ। यसले गर्दा बजारमा कृत्रिम अभाव सिर्जना हुनसक्ने जोखिम बढेको छ।सूचना अधिकारी किराँतीले हाल बजारमा उपलब्ध वस्तु पुरानै ढुवानी र लागतको भएकाले मूल्यवृद्धि गर्न नपाइने स्पष्ट पारेका छन् । ‘अहिले बजारमा नयाँ ढुवानी आएको छैन र भाडा पनि बढेको छैन,’ उनले भने, ‘पहिलेकै स्टकलाई नयाँ र बढी मूल्यमा बेच्नु कालोबजारी हो। हिजो–अस्तिको खरिद–बिक्री मूल्य जाँच गर्दा कैफियत भेटिए तत्काल कारबाही गरिनेछ।




.gif)



