काठमाडौं । चलचित्र ‘गौँथली’ले प्रदर्शनको केही सातामै २५ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस रिपोर्टअनुसार ‘गौँथली’ले आइतबार राति १० बजेसम्म २५ करोड ६८ लाख ६२ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र यो अवधिसम्म ९ लाख ३१ हजार ६२७ जना दर्शकले हेरेका छन् ।
योसँगै ‘गौँथली’ नेपाली चलचित्र उद्योगमा हालसम्म सबैभन्दा धेरै कमाउने चलचित्रको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ । यसअघि दोस्रो स्थानमा रहेको ‘कबड्डी–४’को रेकर्ड ‘गौँथली’ले तोडेको हो । पहिलो स्थानमा भने ‘पूर्णबहादुरको सारङ्गी’ रहेको छ ।डा. कपिल रिजालको निर्देशन रहेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय छ ।




.gif)



