काठमाडौँ । चलचित्र ‘बा : एक योद्धा’ को प्रदर्शन स्थगित गरिएको छ । भदौ १९ भदौदेखि देशभर प्रदर्शन हुन लागेको फिल्मको हाललाई प्रदर्शन स्थगित गरिएको हो ।प्राकृतिक विपत्तिका कारण पुगेको अकल्पनीय जनधनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै निर्माण कम्पनी आर्टिस्टिक इन्टरटेन्मेन्टका तर्फबाट निर्माता वसन्त लम्सालले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शन मिति हेरफेर भएको जानकारी दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘देशको एउटा भूगोल अकल्पनीय प्रलयमा परी हाम्रा बुवा–आमा, दाजुभाइ–दिदीबहिनीहरूले आर्तनाद गरिरहेको अवस्थामा एउटा सामाजिक र पारिवारिक कथावस्तु बोकेको चलचित्र प्रदर्शन गर्न हामीले उपयुक्त ठानेनौँ ।’
चलचित्रको नयाँ प्रदर्शन मिति आगामी मंसिर २४ गते बिहीबारलाई तोकिएको छ । प्रदर्शन मिति सरेका कारण दर्शक, वितरक, प्रदर्शक तथा सञ्चारकर्मीहरूमा पर्न गएको असुविधाप्रति निर्माण पक्षले क्षमा समेत मागेको छ ।त्यस्तै निर्माण युनिटले फिल्मको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग जम्मा गरेको छ । आर्टिस्टिक इन्टरटेन्मेन्टले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई आ–आफ्नो तर्फबाट राहत र उद्धार कार्यमा सहयोग गर्न समेत अपिल गरेको छ ।




.gif)



