काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रका विभिन्न सातवटा संस्थासँग सम्झौता गरेको छ।बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती संस्थाका सेवा लिँदा २० प्रतिशतसम्म छुट पाउनेछन्।सम्झौताअनुसार स्वास्थ्य क्षेत्रतर्फ काठमाडौंको बुद्धनगरस्थित अल्फा केयर डाइग्नोस्टिक सेन्टरको स्वास्थ्य परीक्षण तथा प्रयोगशाला सेवामा २० प्रतिशतसम्म छुट पाइनेछ। यसैगरी कलंकीमा रहेको दृष्टि आई केयरमा नाक, कान, घाँटी र आँखाको उपचार तथा प्रयोगशाला सेवा लिँदा पनि ग्राहकले २० प्रतिशतसम्मकै छुट प्राप्त गर्नेछन्।
होटल तथा रेस्टुरेन्टतर्फ चितवनको कुरिनटारस्थित मनकामना हिलक्रेस्ट होटलको आवास र रेस्टुरेन्ट सेवामा १२.५ प्रतिशतसम्म छुट दिइनेछ। काठमाडौंको ठमेलस्थित छायाँदेवी कम्प्लेक्समा रहेको एलोफ्ट काठमाडौं र दरबारमार्गस्थित ओरियन्ट क्याफेको खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। मकवानपुरको हेटौंडास्थित होटल स्मारकको आवास, खाना र पेय पदार्थमा पनि ग्राहकले १५ प्रतिशतसम्म छुट पाउनेछन्। साथै, काठमाडौंको लाजिम्पाटमा रहेको एल्लो हात्तीबाट उपहार सामग्री खरिद गर्दा १० प्रतिशतसम्म छुट उपलब्ध हुने बैंकले जनाएको छ।‘यस किसिमको सहकार्यबाट हाम्रा ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई लक्षित गरी यस्तो व्यवस्था मिलाइएको हो।’विगत ३२ वर्षदेखि निरन्तर गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ।




.gif)



