सिरहा । विष्णुपुर गाउँपालिकाले निर्माण कार्यमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई ठेक्का किन नतोड्ने भन्ने विषयमा १५ दिने स्पष्टीकरण सोधेको छ। गाउँपालिकाले शुक्रबार प्रथम पटक सूचना प्रकाशित गर्दै १५ दिनभित्र चित्तबुझ्दो जवाफ पेस नगरे ठेक्का अन्त्य गर्ने चेतावनी दिएको छ। गाउँपालिकाको प्रशासकीय अधिकृत भवन निर्माणको ठेक्का पाएको विकास/राम जानकी जे.भीलाई उक्त सूचना जारी गरिएको हो।
गाउँपालिकाका अनुसार कार्यालय तर्फबाट पटक-पटक लिखित तथा मौखिक जानकारी गराउँदा समेत निर्माण कार्यको प्रगति अत्यन्त न्यून देखिएको छ। पेस गरिएको संशोधित कार्यतालिका, माइलस्टोन र कामको क्रमागत प्राथमिकता अनुसार निर्माण कार्य सम्पन्न गर्ने वा गराउने सम्बन्धमा निर्माण व्यवसायीको तर्फबाट कुनै प्रयास वा तदारुकता नदेखिएको कार्यालयले जनाएको छ।सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (२क) बमोजिम ठेक्का अन्त्य किन नगर्ने भन्ने विषयमा सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र सम्झौताको मर्म र कानुनी परिधिभित्र रही स्पष्ट प्रमाण तथा आधारसहित उचित जवाफ पेस गर्न गाउँपालिकाले निर्देशन दिएको छ। साथै, सोही अवधिमा निर्माण कार्यहरू द्रुत गतिमा सञ्चालन गर्न समेत भनिएको छ।
तोकिएको समयभित्र उचित जवाफ पेस नगरेमा वा काम द्रुत गतिमा अघि नबढाएमा सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ र सम्झौताको शर्त बमोजिम ठेक्का तोड्ने प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ।





.gif)





