काठमाडौं, साउन २८ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको विभागले जनाएको छ।
हाल देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ। मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बदली रहे पनि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। तीमध्ये कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षा वा हिमपात हुने सम्भावना छ।
त्यस्तै, मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि मध्यमसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि वर्षाको सम्भावना
आज राति देशभर सामान्यतया बदली रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपात हुनसक्नेछ।
त्यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
बाढी–पहिरोको जोखिम
महाशाखाले कतिपय क्षेत्रमा भारी वर्षा हुनसक्ने भएकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने जनाएको छ। जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सम्बन्धित सबैलाई मौसमको अवस्था बुझेर मात्र यात्रा तथा अन्य गतिविधि सञ्चालन गर्न महाशाखाले अनुरोध गरेको छ।




.gif)





