काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सलालाई बुक बिल्डिङ विधिबाट साधारण शेयर निष्काशन गर्न बाटो खुलेको छ । महंगो मूल्यमा आईपीओ जारी गर्न लागेको भन्दै परेको रिट पाटन उच्च अदालतले खारेज गरे सँगै रिलाइन्सले प्रिमियम मूलयमा बुक बिल्डिङ माध्यमबाट आईपीओ निष्काशन गर्ने बाटो खुल्ला भएको हो ।
हरिबहादुर केसी सहित ४ कानून व्वयसायीले गत असार २५ गते दायर गरेको रिट उच्च अदालतले बुधबार खारेज गरे सँगै रिलायन्सलाई बुक बिल्डिङ विधिबाट शेयर निष्काशन गर्न बाटो खुलेको हो । यद्यपि राजनीतिक किचलो र दाउपेचका कारण यससम्वन्धी निर्णय गर्ने निकाय नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष चयन गर्न नसक्दा रिलायन्स देखि अरु दर्जनौं कम्पनीको शेयर निष्काशन सम्वन्धी फाइलहरु महिनौं देखि अलपत्र पर्दै आएको छ ।
रिलाइन्सको आईपीओको मूल्य ८२० रुपियाँ तोकिएको छ ।
२०७९।८० को चैत मसान्तको वित्तीय विवरणलाई आधार मानेर २०८० मङ्सिरमा संस्थागत २८ वटा लगानीकर्ताहरुबाट आएको अधिकतम् ७०५ र न्युनतम् ६०८ गरेर औसतमा यसको मूल्य ९१२ रुपियाँ तय गरिएको थियो । बुक बिल्डिङ कार्यविधि अनुसार संस्थागत लगानीकर्ताबाट तय भएको मूल्यमा १० प्रतिशतले घटाएर बोर्डले सर्वसाधारणको लागि आईपीओको मूल्य तय गरेको हो । सोही मूल्यअनुसार संस्थागत लगानीकर्ताले यस कम्पनीको शेयरमा लगानी गरिसके पनि सर्वसाधारण लगानीकर्ताले भने लगानी गर्न पाएका छैनन् ।
अहिलेको वित्तीय विवरणलाई आधार मानेर त्यो बेलाको मूल्यबारे प्रश्न गरिनु उचित नभएको रिलाइन्सका लगानीकर्ताहरुले दाबी गर्दै आएका थिए । कार्यविधि अनुसार नै संस्थागत लगानीकर्तालाई बिक्री तथा बाँडफाँड भएको हप्ता दिनमा सर्वसाधारणलाई आईपीओ बिक्री तथा वितरण हुनुपर्नेमा महिनौं सम्म रोकिनु र नियामक निरीह भएर बस्नु उचित नहुने उनीहरुको तर्क छ । कोरोना महामारी पछि रिलायन्सको नाफा घटेको र समग्र उद्योग व्यवसायमा परेको असरको कारण हो भन्दै रिलायन्सका प्रतिनिधिहरुले पछिल्लो समयमा नाफामा वृद्धि भएको बताएको छ ।
उता यस अघि संसदीय समिति देखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सम्मले शेयर निष्काशन गर्न मार्ग प्रशस्त गरिदिएका थिए । यसअघि प्रिमियम मूल्यमा साधारण शेयर निष्काशनको तयारीमा रहेको देशकै एक ठूलो उत्पादन मूलक एवं निर्यात मूलक उद्योग रिलायन्स स्पिनिङ मिल्सले सीआईबीबाट पनि ‘क्लिन चिट’ पाएको थियो ।
वित्तीय विवरणमा कुनै कैफियत नभएको भन्ने नेपाल धितोपत्र बोर्ड (सेबोन)को जवाफमा चित्त बुझाउँदै सीआईबीले रिलायन्सलाई क्लिन चिट दिएको थियो । सीआईबीबाट ‘क्लिन चिट’ पाए पनि उच्च अदालत पाटनमा दायर गरेको रिट विचाराधिन अवस्थामा रहेकोमा सो आज खारेज भएको छ ।
कानून व्यवसायीहरुले अर्थ मन्त्रालय र धितोपत्र बोर्डसहित पाँच वटा निकायलाई विपक्षी बनाएर रिलायन्सलाई प्रिमियम मूल्यमा साधारण शेयर निष्काशन गर्न दिने कुरा गैरकानुनी भएको जिकिर गरेका थिए । रिलायन्सको वित्तीय विवरण बदनियत पूर्वक भएको नभेटिएकोले थप अनुसन्धान आवश्यक नपर्ने सेबोनको तर्क रहँदै आएको छ ।
बोर्डले भनेको छः ‘धितोपत्र सम्बन्धी ऐन २०६३ र सो अन्तर्गत बनेको धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३, धितोपत्र निष्कासन तथा बाँडफांड निर्देशिका २०७४ र बुक बिल्डिङ निर्देशिका २०७७ अनुसार नै मूल्य निर्धारण गरिएको र कम्पनीको वित्तीय विवरण प्रमाणित गर्ने एसएआर एसोसीएट्सले रिलायन्सको २०८०।८१ को प्रथम त्रैमासको प्रतिशेयर आम्दानी ०।९६ पैसा र २०८०।८१ कोप्रति शेयर आम्दानी ३२ रुपियाँ ९० पैसा प्रक्षेपण गरेको र सो प्रक्षेपणमा धितोपत्र बोर्डमा पटक पटक अध्ययन अनुसन्धान भएको विषयलाई आधार मान्दा उक्त कम्पनीको वित्तीय प्रक्षेपण असम्भव वा बदनियत पूर्ण गरेको भन्न सकिने अवस्था नदेखिँदा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९७ बमोजिमको कसुर गरेको भन्न सकिने अवस्था नदेखिएको र वित्तीय विवरणमा कुनै पनि किसिमको कसुर नभएकाले सीआईबिले थप अनुसन्धान गरिरहन आवश्यक समेत देखिँदैन ।’
यस अघि नै उच्च अदालत पाटनले अन्तरिम आदेशलाई निरन्तरता नदिएर रिलायन्स स्पिनिङको आईपीओ निष्काशनको बाटो खोलिदिएको थियो । अहिले रिट नै खारेज गरिदिएको छ । उच्च अदालत पाटनले गत असार २६ मा कारण देखाउ आदेश जारी गर्दै आईपीओ निष्काशन प्रक्रिया रोक्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो । सो मुद्दामा साउन १४ गते भएको बहसपछि अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने निर्णय गरेको थियो ।
रिलाइन्सको आईपीओ विवाद चर्किएपछि संसदको सार्वजनिक लेखा समितिले पनि यसमा चासो देखाउँदै प्रक्रिया रोक्न र कागजाज देश गर्न सेबोनलाई भने पनि अदालतदेखि नियामक सेबोन र प्रहरीको समेत ‘क्लिन चिट’ दिएको अवस्थामा सोही कारण अड्किनुपर्ने अवस्थाको अन्त्य भएङ्को छ ।
२०५४ सालमा स्थापना भएको रिलायन्समा १५ अर्ब लगानी रहेको र ४ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । यस यद्योगले नेपालको धागोको मागलाई पूर्ति गर्दै भारत, टर्कीलगायत थुप्रै मुलुकमा निर्यात पनि गर्दै आएको छ । उत्कृष्ट निर्यातकर्ताको रुपमा समेत यो उद्योग पटक पटक सम्मानित हुँदै आएको छ ।




.gif)





