भद्रपुर (झापा), २७ साउन यहाँको कनकाई नगरपालिकाबाट हालसम्म ९७ जनाले भूमि प्रशासनसम्बन्धी सेवा लिएका छन् । नगरपालिकाको भूमि प्रशासन शाखामार्फत स्थानीयवासीलाई धनीपुर्जा वितरण, जग्गापास तथा कित्ताकाट लगायतका सेवा प्रदान हुँदै आएको छ ।
नगरपालिकाका भूमि प्रशासन शाखा प्रमुख बद्रीकुमार दाहालका अनुसार कनकाई नगरपालिकाले गत असार ८ गतेदेखि भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनमा ल्याएको थियो । उन्का अनुसार, भूमि प्रशासन शाखामार्फत धनीपुर्जा वितरण तथा जग्गापाससम्बन्धी कार्य सहज रूपमा भइरहेको छ ।
“भूमि प्रशासन तथा मालपोत सेवाअन्तर्गत धनीपुर्जा वितरण, कित्ताकाट तथा जग्गापाससम्बन्धी कार्य सहजरूपमा अघि बढिरहेका छन्,” उनले भने, “हालसम्मको अद्यावधिक तथ्याङ्कअनुसार कुल ९७ वटा जग्गापास सम्बन्धी रोक्का तथा पासका काम सम्पन्न भइसकेका छन् ।”
नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले लामो प्रयासपछि भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउन सफल भएको बताएका छन् । उनले यसबाट नगरवासीले सहज, छिटो र पारदर्शी रूपमा सेवा पाउन थालेको बताएका छन् । “यो सेवाले नागरिकमैत्री प्रशासनलाई थप सुदृढ बनाएको छ,” नगर प्रमुख पोखरेलले भनेका छन्।
कनकाई नगरपालिकामा भूमि प्रशासनसम्बन्धी सेवा प्रवाहका लागि १३ जना कर्मचारी खटाइएको नगरपालिकाले जनाएको छ ।




.gif)





