काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल सुरु गरेका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत अर्थ मन्त्रालयको सुवर्ण हलमा सोमबार दिउँसो बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल सुरु भएको हो ।छलफलमा नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदार सहभागी छन् । छलफलमा बजेटले उपलब्ध गराएका सुविधा, कम्पनीहरूले भोगिरहेका समस्या, नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना तथा लगानीको प्रतिफल फिर्ता लैजाँदा देखिएका समस्या र सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा छलफल हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले निजी क्षेत्र तथा विभिन्न सरोकारवालासँग छलफल गर्दै आएका छन् । यसअघि उनले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी रोजगारी सिर्जना गरेका ३३ औद्योगिक घरानाका प्रतिनिधि तथा ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गरिसकेका छन् ।अर्थमन्त्रीले छलफलका लागि बोलाएका २० बहुराष्ट्रिय कम्पनीमा एनसेल आजियाटा लिमिटेड, आरती स्ट्राईप्स प्रालि, गोर्खा ब्रुअरी प्रालि, हिमालय एअरलाइन्स प्रालि, होङ्शी शिवम् सिमेन्ट प्रालि र डुसान इनरबिलिटी कम्पनी लिमिटेड रहेका छन् ।त्यस्तै, डाबर नेपाल प्रालि, वोटलर्स नेपाल (तराई) लिमिटेड, युनिलिभर नेपाल लिमिटेड, एशियन पेन्ट्स (नेपाल) प्रालि, पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड, गोर्खा लाहारी प्रालि, ह्वासिन सिमेन्ट नारायणी प्रालि र न्यू होप एग्रो बिजनेस नेपाल प्रालि पनि छलफलमा सहभागी छन् ।
नेपाल वेलहोप एग्रि–टेक प्रालि, वरुण बेभरेज नेपाल प्रालि, टर्किस एयरलाइन्स इन्कर्पोरेशन प्रालि, भोटेकोशी पावर कम्पनी प्रालि तथा बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रालिलाई पनि छलफलमा आमन्त्रण गरिएको छ ।नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीले भोगिरहेका नीतिगत, प्रशासनिक तथा व्यावसायिक समस्या पहिचान गरी लगानी विस्तारका लागि आवश्यक सहजीकरण गर्ने उद्देश्यले छलफल आयोजना गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।




.gif)





