काठमाडौँ । व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत आर्थिक वर्ष २०८२/८३ मा ३९ करोड ८७ लाख २३ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ८४.४५ प्रतिशतले बढेको हो ।हुलास फिनसर्भले सार्वजनिक गरेको आव २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले व्यवसाय विस्तारसँगै नाफामा समेत उल्लेख्य सुधार गरेको छ । अघिल्लो आवमा कम्पनीले २१ करोड ६१ लाख ६९ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
एक वर्षको अवधिमा कम्पनीको व्यवसायको आकार करिब एकतिहाइले बढेको छ । व्यवसाय विस्तारसँगै खुद ब्याज आम्दानी र नाफामा उल्लेख्य वृद्धि भएको हो ।गत आवमा कम्पनीको खुद ब्याज आम्दानी २२ करोड १० लाख रुपैयाँबाट बढेर ४८ करोड २३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको कुल कर्जा ८ अर्ब २ करोड ५५ लाख रुपैयाँबाट ५२ प्रतिशतले बढेर १२ अर्ब २१ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।कम्पनीले निष्क्रिय कर्जा नियन्त्रणमा समेत सुधार गरेको छ । अघिल्लो आवमा ३.४० प्रतिशत रहेको निष्क्रिय कर्जाको अनुपात घटेर गत आवमा १.८७ प्रतिशतमा झरेको छ । चुनौतीपूर्ण आर्थिक अवस्थाका बीच प्रभावकारी असुली प्रक्रियाका कारण खराब कर्जा घटाउन सफल भएको व्यवस्थापनले जनाएको छ ।नाफामा भएको वृद्धिसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । अघिल्लो आवको अन्त्यमा २६.०४ रुपैयाँ रहेको ईपीएस गत आवमा बढेर ४८.०४ रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर नेटवर्थ २२७.४६ रुपैयाँ, रिटर्न अन इक्विटी २१.१२ प्रतिशत, कस्ट अफ फन्ड ५.७७ प्रतिशत र ब्याजदर स्प्रेड ३.३९ प्रतिशत रहेको छ । असार मसान्तसम्म कम्पनीको साधारण जगेडा कोषमा २८ करोड ३९ लाख रुपैयाँ रहेको छ ।गत आवमा आर्जन गरेको खुद नाफासहित अघिल्लो आवसम्मको सञ्चित मुनाफा जोड्दा कम्पनीको वितरणयोग्य नाफा ७७ करोड ४० लाख रुपैयाँ पुगेको छ । उक्त रकमका आधारमा कम्पनीले चुक्ता पुँजीको करिब ९३ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता राख्छ ।हुलास फिनसर्भ नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त हायर पर्चेज कर्जा प्रदायक कम्पनी हो । कम्पनीले सन् २०१२ देखि हायर पर्चेज सेवा प्रदान गर्दै आएको छ । गोल्छा ग्रुपअन्तर्गतको कम्पनीले ग्राहकलाई ‘इन्स्टा फाइनान्स’ सेवा उपलब्ध गराउँदै आएको छ ।कम्पनीको चुक्ता पुँजी ८३ करोड रुपैयाँ छ । कम्पनीले दुई पाङ्ग्रे, तीन पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारीसाधन, मोबाइल फोन, उपभोक्ता इलेक्ट्रोनिक्स, ल्यापटप र फर्निचर खरिदका लागि उपभोक्ता फाइनान्सिङ सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीले बुक बिल्डिङ विधिबाट २० लाख ७५ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । आईपीओ निष्कासनका लागि कम्पनीले दुई वर्षअघि नै एनएमबि क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।सन् २०१२ मा हुलास इन्भेस्टमेन्ट कम्पनीका रूपमा स्थापना भएको कम्पनीको नाम सन् २०२१ मा हुलास फिनसर्भमा परिवर्तन गरिएको थियो । त्यसपछि सन् २०२३ नोभेम्बरदेखि कम्पनीको नाम हुलास फिनसर्भ हायर पर्चेज राखिएको हो ।कम्पनीमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको ८५ प्रतिशत सेयर स्वामित्व रहेको छ भने बाँकी १५ प्रतिशत सेयर हुलास अटोक्राफ्ट, हिम इलेक्ट्रोनिक्सलगायत ६ जनाको स्वामित्वमा रहेको छ । हंशराज हुलासचन्द एन्ड कम्पनी नेपालमा बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हो । कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा हुन् ।देशको असहज आर्थिक अवस्था र तरलता संकुचनका बाबजुद कम्पनीले मजबुत वित्तीय प्रदर्शन गरेको जनाएको छ । कम्पनीले आफ्नो वित्तीय प्रतिवेदनमा भनेको छ, ‘हामीले अन्डरराइटिङ मापदण्डमा गरेको कडाइ र सुरुवाती चरणमै गरिएको असुली प्रयासका कारण सम्पत्तिको गुणस्तर कायम राख्न सफल भएका छौँ ।’




.gif)





