काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक प्रहरीलाई बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गर्न निर्देशन दिएका छन् ।आइतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा गजुरेलले ट्राफिक प्रहरीले नागरिकसँग गर्ने व्यवहारमा सुधार आवश्यक रहेको बताए । केही ट्राफिक प्रहरीले गरेको गल्तीका कारण समग्र संगठनले बदनामी भोग्न नहुने उनको भनाइ छ ।
कतिपय ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने नागरिकलाई चिट नकाटी पैसा लिएर छाड्ने गरेको गुनासो आएको उल्लेख गर्दै गजुरेलले संगठनमा अब यस्ता गतिविधि अस्वीकार्य हुने बताए ।उनले भने, “अब बोलीमा शुद्धता हुनुपर्यो, व्यवहारमा नम्रता हुनुपर्यो र आर्थिक सुशासन हुनुपर्यो । कसैसँग आर्थिक प्रलोभनमा पर्ने वा आर्थिक लाभ लिने काम हुनुहुँदैन ।”ट्राफिक प्रहरीलाई सुरक्षित, प्रविधिमैत्री र आवश्यक सेवा–सुविधासहित अधिकारसम्पन्न बनाउने तर नागरिकसँगको व्यवहार र कर्तव्य निर्वाहमा पनि सुधार गर्नुपर्ने उनले बताए ।गजुरेलले ट्राफिक व्यवस्थापन सुधारका लागि नीति निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । राष्ट्रिय यातायात नीति, २०८३ मा सुधारका विषय समेटिएको उल्लेख गर्दै उनले अब त्यसलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए ।
ट्राफिक नियम उल्लंघनमा एक लाखदेखि डेढ लाख रुपैयाँसम्म जरिवाना गर्ने विषयमा छलफल भइरहेको भए पनि त्यस्तो व्यवस्था कार्यान्वयनमा नआएको उनले स्पष्ट पारे । जरिवानाको रकम निर्धारण गर्नुअघि नागरिक र सरोकारवाला निकायसँग छलफल गरिने उनको भनाइ छ ।नियम कडाइका साथ कार्यान्वयनसँगै जनचेतनामूलक कार्यक्रमलाई पनि प्रभावकारी बनाउनुपर्नेमा गजुरेलले जोड दिए । काठमाडौंलगायत विभिन्न ठाउँमा बाहिरबाट आउने नागरिकलाई ट्राफिक नियमबारे पर्याप्त जानकारी नहुन सक्ने उल्लेख गर्दै उनले देशभर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरे ।“नियम थाहा नभएर नियम मिच्न पाइँदैन । तर जरिवानाको कुरा, प्रविधिमा विकास गर्ने कुरा र जनचेतनाको कुरा पनि हामीले अगाडि बढाउनुपर्छ,” उनले भने ।ट्राफिक प्रहरीलाई अधिकार र सेवा–सुविधा उपलब्ध गराउनेसँगै नागरिकप्रतिको व्यवहार र कर्तव्य निर्वाहमा सुधार गर्नुपर्ने उनको भनाइ छ ।




.gif)





