काठमाडौँ । सर्वोच्च अदालतले आपराधिक पृष्ठभूमिका चक्रे मिलन भनिने मिलन गुरुङले सम्पत्ति शुद्धीकरणको अभियोगमा सफाइ दिएको छ । न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको इजलासले बिहीबार गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला सदर गर्ने निर्णय सुनाएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानमा आधारित भएर २०७० जेठ ५ मा दीपक मनाङेसहित गणेश लामा, पर्शुराम बस्नेत, अभिषेक गिरी र चक्रे मिलनविरुद्ध मुद्दा दायर भएको थियो । उक्त मुद्दामा विशेष अदालतले सबैलाई सफाइ दिएपछि गुरुङविरुद्ध सरकारले २०७५ जेठ ३० गते सर्वोच्चमा विशेषको फैसला बदर हुनुपर्ने माग गर्दै मुद्दा दायर गरेको थियो । मनाङेको हकमा सर्वोच्चमा पुनरावेदन परेको थिएन भने अन्यको हकमा सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो । चक्रे मिलनले ८ करोड रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको दाबी अभियोगपत्रमा गरिएको थियो । उनका नाममा काठमाडौँमा ७ आना जग्गा र परिवारका सदस्यका नाममा काठमाडौँ र गोरखामा करिब ३० रोपनी जग्गा गरी ७ करोड अवैध सम्पत्ति रहेको दाबी गरिएको थियो ।




.gif)



