काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा योगदान पुर्याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एप एम–स्मार्ट (एमबीएल एम–स्मार्ट) मा ‘बिल जितौँ (आईआरडी)’ सुविधा सञ्चालनमा ल्याएको छ।नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार आन्तरिक राजस्व विभागले बिल लिने संस्कारको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रमअन्तर्गत योग्य उपभोक्ताले नियमित रूपमा हुने लक्की ड्रमार्फत नगद पुरस्कार जित्ने अवसर पाउनेछन्। नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १ सय रुपैयाँभन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गरी माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप वा बैंक तथा वालेटको मर्चेन्ट क्यूआरमार्फत डिजिटल भुक्तानी गर्दा योग्य कारोबार स्वतः आन्तरिक राजस्व विभागको प्रणालीमा समावेश हुने बैंकले जनाएको छ। यसका लागि छुट्टै दर्ता गर्नुपर्ने छैन।माछापुच्छ्रे बैंकका ग्राहकले एम–स्मार्ट एपमा लगइन गरी ‘बिल जितौँ (आईआरडी)’ मेनुमा प्रवेश गरेपछि करदाता प्रोत्साहन कार्यक्रमका लागि योग्य भएका कुल कारोबार संख्या तथा योग्य कारोबारको विवरण एउटै स्थानबाट हेर्न सक्नेछन्।आन्तरिक राजस्व विभागले योग्य कारोबारमध्येबाट नियमित रूपमा लक्की ड्र सञ्चालन गर्दै प्रत्येक दिन एक जना विजेतालाई कर कट्टीपश्चात् १ लाख रुपैयाँ तथा प्रत्येक १५ दिनमा एक जना बम्पर विजेतालाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ।
यस अवसरमा माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकलाई १ सय रुपैयाँभन्दा बढीको प्रत्येक खरिदमा मर्चेन्ट क्यूआरमार्फत डिजिटल भुक्तानी गर्न, अनिवार्य रूपमा प्यान/भ्याट बिल लिन र बिल सुरक्षित राख्न आग्रह गरेको छ। साथै, एम–स्मार्टको ‘बिल जितौँ (आईआरडी)’ मेनुमार्फत आफ्नो योग्य कारोबार नियमित रूपमा जाँच गर्न बैंकले अनुरोध गरेको छ।माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङलाई थप सहज, सुरक्षित तथा ग्राहकमैत्री बनाउँदै सरकारी डिजिटल भुक्तानी र कर सचेतना अभियानमा सहकार्य गर्दै आएको जनाएको छ।बैंकले ‘डिजिटल भुक्तानी गरौँ, बिल लिऔँ, सुरक्षित राखौँ र १० लाख रुपैयाँसम्मको उपहार जित्ने अवसर नछुटाऔँ’ भन्ने सन्देशसहित ग्राहकलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।




.gif)





