काठमाडौं, २१ साउन । भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एकपटकमा ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र इजाजतपत्र (लाइसेन्स) का लागि आवेदन दिन आग्रह गरेको छ।
विभागले बिहीबार सूचना जारी गर्दै मालपोत ऐन, २०३४ तथा मालपोत नियमावली, २०३६ (आठौं संशोधन) बमोजिम तोकिएको अनलाइन प्रणालीमार्फत आवेदन पेस गर्नुपर्ने जनाएको हो। आवेदन विभागको तोकिएको पोर्टलमार्फत गर्न सकिनेछ।
सूचनाअनुसार एकपटकमा ५ करोड रुपैयाँसम्मको कारोबार गर्ने फर्म वा कम्पनीले ५ लाख रुपैयाँ र ५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्नेले १० लाख रुपैयाँ इजाजत दस्तुर बुझाउनुपर्नेछ।
यसअघि आवेदन दिएर पनि आर्थिक वर्ष २०८२।८३ को असार मसान्तसम्म इजाजतपत्र नलिएका फर्म, कम्पनी वा संस्थाले समेत पुनः अनलाइन आवेदन दिनुपर्ने विभागले जनाएको छ।
विभागका अनुसार अनलाइन आवेदनसँगै आवश्यक कागजातको मुद्रित प्रति विभागमा बुझाउनु पर्नेछ। साथै, कम्पनी वा संस्थाका सञ्चालक सदस्यहरू आपराधिक गतिविधिमा संलग्न नरहेको नेपाल प्रहरीको केन्द्रीय अपराध सूचना अभिलेखालयको प्रमाणसमेत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।




.gif)





