पोखरा । नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बास र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यबिच भेटवार्ता भएको छ । भेटमा नेपाल र इजरायलको सम्बन्ध तथा पोखरा र इजरायलबिचको साझा हितका विषयमा छलफल भएको मेयरको सचिवालयले जनाएको छ ।मेयर आचार्यले महानगरका कर्मचारी तथा प्राविधिक जनशक्तिको दक्षता र क्षमता अभिवृद्धिका लागि इजरायलसँग सहकार्य गर्न राजदूतसँग आग्रह गरे । ‘आधुनिक कृषि प्रविधि, सीप विकास, रोजगारी तथा प्राविधिक ज्ञान हस्तान्तरणका क्षेत्रमा सहकार्य विस्तार गर्न सके त्यसबाट पोखरासहित समग्र नेपाल लाभान्वित हुनेछ,’ उनले भने ।
पोखराबाट अन्तर्राष्ट्रिय उडानसँगै पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न इजरायलको साथ उनले खोजेका छन् । खासगरी पर्यटन, संस्कृति र हवाई सम्पर्कका क्षेत्रमा सहकार्यका लागि आचार्यले प्रस्ताव गरेका थिए ।राजदूत बासले इजरायलको आधुनिक तथा प्रविधिमैत्री कृषि प्रणालीबाट नेपालले प्रशस्त फाइदा लिन सक्ने बताए । इजरायलमा सञ्चालित लर्न एन्ड अर्न कार्यक्रममार्फत त्यहाँ पुगेका नेपाली युवाहरूले कृषि क्षेत्रमा ज्ञान, सीप र अनुभव हासिल गर्दै उल्लेखनीय प्रगति गरिरहेको उनले सुनाए ।दुवै पक्षले पर्यटन तथा सांस्कृतिक आदान–प्रदानलाई थप विस्तार गर्ने विषयमा चासो व्यक्त गरेका थिए । विशेषगरी पोखरा र इजरायलबीच सिधा हवाई उडान सञ्चालनको सम्भावनाबारे दुवै पक्षले सकारात्मक छलफल गरेका महानगरले जनाएको छ ।




.gif)



