प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि छलफल गर्न भोलि सोमबार दिउँसो २ बजे बैठक बोलाएको छ। समितिका सभापति भरतबहादुर खड्काका अनुसार बैठकमा प्राप्त उजुरीहरूको विवरणमाथि छलफल गर्नुका साथै ती विवरणहरू समितिका माननीय सदस्यहरूलाई वितरण गरिनेछ।यसैबीच, संघीय संसद् सचिवालयले संसदीय समितिहरूमा दर्ता हुने उजुरीलाई व्यवस्थित बनाउन 'एकद्वार प्रणाली' लागू गर्ने तयारीसमेत गरिरहेको छ।
यस व्यवस्थाअनुसार एउटै उजुरी एकभन्दा बढी समितिमा नपर्ने र सम्बन्धित विषयको अधिकारक्षेत्रभित्र पर्ने समितिले मात्रै त्यस्ता उजुरीको अध्ययन तथा कारबाही गर्ने व्यवस्था हुनेछ। एकद्वार प्रणाली पूर्ण रूपमा लागू हुनुअघि प्रत्येक समितिले आफूसमक्ष रहेका उजुरीहरूको अवस्था समीक्षा गरिरहेका छन्। सोही क्रममा सार्वजनिक लेखा समितिले पनि आफूकहाँ प्राप्त उजुरीबारे प्रारम्भिक छलफल गर्न लागेको हो।समितिले उजुरीहरूको प्रकृति र गम्भीरताको मूल्याङ्कन गर्दै थप अध्ययन, छानबिन वा अन्य आवश्यक प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा निर्णय गर्ने जनाएको छ। त्यसका आधारमा उजुरीमाथिको आगामी कारबाहीको प्रक्रिया तय गरिनेछ।




.gif)



