काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा भएको प्रकरणलाई लिएर राष्ट्रिय सभामा सांसदहरूले सरकारको चर्को आलोचना गरेका छन्। सभाको शुक्रबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसदहरूले सुनसरी लगायत तराईका जिल्लामा उत्पन्न तनावबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने माग गरेका हुन्। मधेसमा उत्पन्न धार्मिक तनावबारे सदनलाई जवाफ दिनका लागि सरकारलाई रुलिङ गर्न अध्यक्षको समेत ध्यानाकर्षण गराएका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद जयन्तीदेवी राईले कप्तानगञ्जमा भएको ओमप्रकाश मेहताको हत्याले मुलुकलाई तरङ्गित र स्तब्ध बनाएको बताइन्। यस्तो संवेदनशील घडीमा प्रधानमन्त्री स्वयं उपस्थित भएर घटनाको वस्तुस्थिति र समग्र अवस्थाबारे सदनलाई जवाफ दिनुपर्ने उनको भनाइ छ। पछिल्लो घटनाक्रम झन् जटिल बन्दै गएको र यसले आन्तरिक द्वन्द्व, सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा गम्भीर असर पुर्याइरहेको उनले उल्लेख गरिन्। यस्तो संवेदनशील घटनाप्रति सरकार पर्याप्त गम्भीर नदेखिएको आरोप उनले लगाइन्।
सरकारले आफैँले बोलाउनुपर्ने सर्वदलीय बैठकमा समेत प्रधानमन्त्री उपस्थित नभएको सांसद राईले बताइन्। तनाव सुरु भएकै बेला प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गरेको भए यति ठुलो क्षति नहुने दाबी उनले गरिन्। सुनसरीमा गोली किन र कसको आदेशमा चलाइयो भन्ने विषयमा निष्पक्ष छानबिन गर्नसमेत उनले माग गरिन्।सदनमा बोल्दै सांसद राईले भनिन्, ‘यो घटनाको प्रकृति हेर्दाखेरी झन् जटिल बन्दै गइरहेको छ।’ उनले थपिन्, ‘यसले आन्तरिक द्वन्द्व बढाउने र सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता भड्काउने कार्यमा बढवा दिइरहेको छ।’सरकारको भूमिकामाथि प्रश्न उठाउँदै उनले भनिन्, ‘यस्तो संवेदनशील घटनाप्रति सरकार गम्भीर देखिँदैन, आफैँले बोलाउनुपर्ने सर्वदलीय बैठकमा समेत प्रधानमन्त्री उपस्थित हुनुभएको छैन।’ उनले अगाडि भनिन्, ‘प्रधानमन्त्रीले तनाव सुरु हुने बित्तिकै सम्बोधन गरेको भए यत्रो क्षति हुँदैनथ्यो होला।’छानबिन र रुलिङको माग गर्दै उनले भनिन्, ‘त्यसकारण सरकारले यसको उत्तर त दिनैपर्छ, आज किन गोली हानियो? कसको आदेशमा गोली हानियो?’ उनले प्रश्न गरिन्, ‘गोली प्रहरीले चलायो वा अरू कसैले, यो विषयमा सत्यतथ्य जाँचबुझ गर्नुपर्दछ।’ उनले थपिन्, ‘किन सुरक्षा संयन्त्र कमजोर र विवादस्पद हुँदै गइरहेको छ? यी प्रश्नहरूको जवाफ दिनका निम्ति प्रधानमन्त्रीलाई रुलिङ गर्न म अध्यक्षज्यूसमक्ष माग गर्न चाहन्छु।’
नेकपा (एमाले) की मुख्य सचेतक रोशनी मेचेले मधेसमा उत्पन्न समस्याको हल आपसी संवादबाट गर्नुपर्नेमा सरकारले क्रूर र बर्बरताको बाटो रोजेको भन्दै भर्त्सना गरिन्। सुनसरीसहित मधेस प्रदेश बलिरहँदा सरकार मौन बसेको आरोप उनले लगाइन्।सदनमा बोल्दै मुख्य सचेतक मेचेले भनिन्, ‘सरकार नागरिक बचाउन गएको हो वा गोली प्रहार गर्न?’ उनले थपिन्, ‘सुनसरीसहित मधेस प्रदेशमा धार्मिक तनावको आगो बलिरहँदा सरकार मौन बस्यो।’सांसदहरूले मधेसमा भएको संवेदनशील घटनाबारे सरकारको आधिकारिक धारणा संसदमार्फत सार्वजनिक गर्न जोडदार माग गरेका छन्।




.gif)





