images

२०८३ आश्विन २७ गते

images
images
images
  • समाचार
  • आर्थिक रूपान्तरणलाई तीव्रता दिन बिमस्टेक सदस्य...

आर्थिक रूपान्तरणलाई तीव्रता दिन बिमस्टेक सदस्य राष्ट्रबिच सहकार्य आवश्यक

आर्थिक रूपान्तरणलाई तीव्रता दिन बिमस्टेक सदस्य राष्ट्रबिच सहकार्य आवश्यक

images
images
मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का महासचिव इन्द्रमणि पाण्डेले परराष्ट्रमन्त्री शिशिर खनाल र सचिव अमृतबहादुर राईसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । मंगलबार परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा बिमस्टेक सदस्य राष्ट्रबिच सहकार्यबारे चर्चा हुनुका साथै क्षेत्रीय सहकार्य, शान्ति, समृद्धि तथा दिगो विकासको विषयमा कुराकानी भएको बताइएको छ ।  सो क्रममा पाण्डेले बिमस्टेकले गरेको गतिविधि तथा उपलब्धिको बारेमा समेत जानकारी गराए ।  भेटघाटको क्रममा परराष्ट्रमन्त्री खनालले यसमा रहेका सदस्य राष्ट्रहरूको आर्थिक रूपान्तरणलाई तीव्रता दिन तथा साझा क्षेत्रीय चुनौतीहरूको प्रभावकारी रूपमा सामना गर्न सहकार्य आवश्यक रहेको धारणा राखेका थिए । बिमस्टेकलाई अझ प्रभावकारी, परिणाममुखी तथा जनमुखी  क्षेत्रीय संगठनका रूपमा विकास गर्दै अगाडि बढ्नुपर्ने धारणा उनको थियो । 

    images
    images

    बिमस्टेकका साझा उद्देश्यहरूको प्रवर्द्धन तथा बंगालको खाडी क्षेत्रलाई अझ सुदृढ, समृद्ध र परस्पर आबद्ध क्षेत्रका रूपमा विकास गर्न नेपालले पूर्ण सहयोग र समर्थन जारी राख्ने मन्त्री खनालले प्रतिबद्धता व्यक्त गरे ।महासचिव पाण्डेले बिमस्टेकलाई प्रभावकारी, परिणाममुखी तथा कार्यमुखी क्षेत्रीय संगठनका रूपमा सुदृढ बनाउने दिशामा भएका पछिल्ला प्रगति तथा जारी प्रयासबारे जानकारी गराएका थिए । संस्थागत सुधार, बिमस्टेक चार्टर तथा बिमस्टेक भिजन दस्ताबेजको कार्यान्वयनमा भएको प्रगति, साथै क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउन अघि बढाइएका प्राथमिकता प्राप्त पहलहरूबारे उनले मन्त्री खनाललाई जानकारी गराएका थिए । बिमस्टेकका गतिविधिमा नेपालको सक्रिय सहभागिता तथा रचनात्मक योगदानको प्रशंसा गर्दै संगठनका साझा उद्देश्यहरू प्राप्त गर्न आगामी दिनमा पनि नेपालको निरन्तर सहयोग र समर्थन रहने विश्वास उनले व्यक्त गरेका थिए । नेपाल सन् २००४ देखि बिमस्टेकको सदस्य राष्ट्र हो । दक्षिण एसिया र दक्षिण–पूर्वी एसियाबिच बहुआयामिक प्राविधिक तथा आर्थिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलङ्का र थाइल्यान्ड सदस्य राष्ट्र रहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend