images

२०८३ आश्विन १६ गते

images
images
images

सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

images
images
सोमवार, श्रावण ११ २०८३
सोमवार, श्रावण ११ २०८३
  • इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई पक्षबीच भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच वटा संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

    images
    images

    जिल्ला प्रशासन कार्यालयका अनुसार आइतबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि हरिनगरा बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगञ्ज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु आदेश लागू गरिएको हो। सुरक्षा अवस्था सामान्य नभएसम्म सर्वसाधारणलाई घरबाहिर ननिस्कन तथा सुरक्षा निकायको निर्देशन पूर्ण रूपमा पालना गर्न प्रशासनले आग्रह गरेको छ।

    प्रहरीका अनुसार शनिबार राति करिब साढे १० बजे देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई पक्षबीच भएको झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणबाहिर जान थालेको थियो। झडपलाई नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको थियो। भीडले ढुंगामुढा तथा आक्रमण गर्न थालेपछि आत्मरक्षाका लागि प्रहरीले चेतावनीस्वरूप बल प्रयोग गरेको र त्यसक्रममा गोली चलाउनुपरेको प्रारम्भिक जानकारी दिइएको छ।

    images
    images

    गोली लागेर देवानगञ्ज गाउँपालिका–३ निवासी ३० वर्षीय महेताको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि अस्पताल लैजाने प्रयास गरिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन् भने बजार क्षेत्र पूर्ण रूपमा तनावग्रस्त बनेको छ।

    घटनामा नौ जना प्रहरीसहित १८ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था सामान्य रहेको भए पनि केहीको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ। प्रहरीमाथि ढुंगामुढा तथा अन्य वस्तु प्रहार हुँदा सुरक्षाकर्मीहरू पनि घाइते भएका हुन्।

    घटनापछि सम्भावित थप हिंसा रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायको थप टोली परिचालन गरिएको छ। संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रमुख चोक, बजार तथा आवागमन हुने स्थानहरूमा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

    जिल्ला प्रशासन कार्यालयले कर्फ्यु अवधिमा अत्यावश्यक सेवा बाहेक कुनै पनि व्यक्ति वा सवारीसाधनलाई आवतजावत गर्न अनुमति नहुने जनाएको छ। स्थानीय बासिन्दालाई अफवाहमा विश्वास नगर्न, सामाजिक सञ्जालमा अपुष्ट सूचना नफैलाउन तथा शान्ति–सुरक्षा कायम राख्न प्रशासनसँग सहयोग गर्न आग्रह गरिएको छ।

    यस घटनाको कारण, गोली चलाउनुपर्ने अवस्था कसरी सिर्जना भयो तथा मृत्यु भएको घटनाको विस्तृत छानबिन सुरु गरिएको जिल्ला प्रशासन र प्रहरीले बताएका छन्। सुरक्षा निकायले घटनाका सबै पक्षको अनुसन्धान गरी कानुनअनुसार आवश्यक कारबाही गरिने जनाएको छ।

    देवानगञ्जमा भएको यस घटनाले सुनसरी जिल्लाको शान्ति–सुरक्षामा चुनौती थपिएको छ। प्रशासनले अवस्था सामान्य बनाउन सबै राजनीतिक दल, स्थानीय समुदाय, सामाजिक अगुवा तथा सरोकारवालासँग संयम अपनाउन र आपसी सद्भाव कायम राख्न अपिल गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend