विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको महत्वपूर्ण खेलमा नेपाल ८ विकेटको फराकिलो अन्तरले पराजित भएको छ। १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ३७।४ ओभरमै २ विकेट गुमाएर लक्ष्य पूरा गर्दै सहज जित दर्ता गरेको हो।
नामिबियाको जितमा माइकल भान लिङगेनले ५१ रनको अर्धशतकीय इनिङ खेले भने जान फ्र्यालिङकले ८९ बलमा ८ चौका र १ छक्काको मद्दतमा अविजित ७८ रन बनाए। जन निकोल लोफ्टाइ–इटनले १७ रनको योगदान दिए।
नेपालका लागि नन्दन यादव र कप्तान रोहित पौडेलले समान १–१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६।५ ओभरमा १ सय ५७ रनमा अलआउट भएको थियो। नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ३० रनको योगदान दिए। गुल्सन झाले २० रन, करण केसीले १८ रन, आसिफ शेखले १६ रन तथा सोमपाल कामीले १५ रन बनाए।
नेपाललाई सानो योगफलमा समेट्ने क्रममा नामिबियाका जेजे स्मिथले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए। ज्याक ब्रासेल र बर्ना स्कोल्जले समान २–२ विकेट हात पारे।
यस जितसँगै नामिबियाले लिग–२ अंकतालिकामा महत्वपूर्ण दुई अंक जोडेको छ भने नेपालले महत्वपूर्ण खेलमा निराशाजनक हार व्यहोरेको छ।




.gif)





