काठमाडौं, २६ असार । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा तथा कालिकोट जिल्लामा शैक्षिक सहयोग र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाले शाखा कार्यालय तकसेरा (रुकुम पूर्व), पेदीबजार (रुकुम पश्चिम) र बाघमारा (रोल्पा) मार्फत सञ्चालित कार्यक्रमअन्तर्गत विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत करिब ५०० जना विद्यार्थीलाई कापी, कलमलगायत आवश्यक शैक्षिक सामग्री वितरण गरेको जनाएको छ। विद्यार्थीहरूको पठनपाठनलाई सहज, गुणस्तरीय र प्रभावकारी बनाउन सहयोग पुर्याउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको हो।
यसैबीच, शाखा कार्यालय पलाँता (कालिकोट) ले स्थानीय तहसँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। दुर्गम क्षेत्रका नागरिकमा बचतको बानी विकास, जिम्मेवार कर्जा उपयोग, वित्तीय अनुशासन तथा वित्तीय सेवाप्रतिको पहुँच र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले शिक्षा र वित्तीय साक्षरतामा केन्द्रित यस्ता कार्यक्रमले विद्यार्थी तथा समुदायमा सकारात्मक सोच, जिम्मेवार वित्तीय व्यवहार र गुणस्तरीय शिक्षाप्रति थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।
इन्फिनिटी लघुवित्तले शिक्षा, वित्तीय समावेशीकरण तथा समुदायको दिगो विकासलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा मान्दै आएको जनाएको छ। संस्थाका अनुसार शिक्षामा गरिएको सानो लगानीले पनि दीर्घकालीन रूपमा समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वासका साथ यस्ता कार्यक्रम सञ्चालन गरिएको हो।
संस्थाले आगामी दिनमा पनि शिक्षा, सामाजिक उत्थान, वित्तीय समावेशीकरण तथा समुदायको समग्र विकासमा योगदान पुर्याउने सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी र व्यापक रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।




.gif)





