काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत बर्दियाका दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको छ। बैंकले लुम्बिनी प्रदेशको बर्दिया जिल्ला, बाँसगढी नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएको हो।
बैंकका अनुसार उक्त सहयोग बढैयाताल शाखामार्फत गरिएको हो। वि।सं। २०४५ मा स्थापना भएको यस सामुदायिक विद्यालयमा करिब एक हजार २०० विद्यार्थी अध्ययनरत छन्। तीमध्ये २० जना दृष्टिविहीन विद्यार्थी ब्रेल सामग्रीको सहायताले अध्ययन गरिरहेका छन्। विद्यालयमा आवश्यक ब्रेल सामग्रीको अभावका कारण उनीहरूको पठनपाठनमा कठिनाइ भइरहेको अवस्थालाई ध्यानमा राख्दै बैंकले सहयोग उपलब्ध गराएको जनाएको छ।
विद्यालयमा आयोजित कार्यक्रममा बैंकले दृष्टिविहीन विद्यार्थीलाई गुणस्तरीय ब्रेल पेपर, ए–९ ग्रेड ब्रेल स्टाइलस, ए–९ ग्रेड इन्टरपोइन्ट ब्रेल स्लेट, विद्यालय झोला तथा स्क्रिन रिडर सफ्टवेयरसहितको कम्प्युटर हस्तान्तरण गरेको छ। बैंकले यस्ता सामग्रीले दृष्टिविहीन विद्यार्थीको सिकाइ प्रक्रिया थप सहज, प्रभावकारी र प्रविधिमैत्री बन्ने विश्वास व्यक्त गरेको छ।
सिटिजन्स बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। वित्तीय सेवा मात्र नभई सामाजिक उत्तरदायित्व निर्वाहमा पनि सक्रिय रहने प्रतिबद्धता बैंकले दोहोर्याएको छ।
हाल सिटिजन्स बैंकले देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ४२ हजारभन्दा बढी ग्राहकलाई आधुनिक तथा डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ।




.gif)





