काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३।८४ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले वित्तीय बजारमा सकारात्मक सन्देश दिएको छ। निजी क्षेत्रतर्फ कर्जा विस्तारको लक्ष्य बढाउनुका साथै सेयर धितो कर्जासम्बन्धी व्यवस्थामा लचकता अपनाउने संकेत गरेपछि सेयर बजारमा उत्साह देखिएको हो।
राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ ११ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य राखेको छ। सुस्त आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले ल्याइएको यो व्यवस्थाले बैंकिङ प्रणालीबाट कर्जा प्रवाह बढ्ने अपेक्षा गरिएको छ।
मौद्रिक नीति सार्वजनिक हुनुअघि नै बजारमा सकारात्मक संकेत देखिएको थियो। बजारमैत्री नीति आउने अपेक्षासँगै मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४.५७ अंकले बढेर २,६५१.६८ विन्दुमा पुगेको छ। लगातार दुई दिनको गिरावटपछि आएको यो सुधारले लगानीकर्ताको मनोबल बढाएको देखिन्छ।
विशेषगरी सेयर धितो कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाको वित्तीय क्षमता, जोखिम व्यवस्थापन र तरलताको अवस्थाअनुसार निर्धारण गर्ने संकेतलाई बजारले सकारात्मक रूपमा लिएको छ। यसले बैंकहरूलाई आफ्नै क्षमता मूल्यांकनका आधारमा कर्जा विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ।
यद्यपि, बैंकिङ क्षेत्रमा पुँजी कोषको दबाब कायमै रहेकाले कर्जा विस्तारको वास्तविक प्रभाव कार्यान्वयन र आगामी एकीकृत निर्देशनमा निर्भर रहने विश्लेषकहरूको भनाइ छ।
कारोबार रकममा पनि उल्लेख्य वृद्धि
नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो दिन ३ अर्ब ५५ करोड रुपैयाँ रहेको कारोबार मंगलबार बढेर ४ अर्ब ४० करोड ७ लाख रुपैयाँ पुगेको छ।
यस दिन ३५२ कम्पनीका ९५ लाख १९ हजार कित्ता सेयर ७२ हजारभन्दा बढी कारोबारमार्फत किनबेच भएका छन्। बजारका सबै १३ उपसमूह हरियालीमा बन्द भएका छन्। व्यापार समूह १.८९ प्रतिशतले सर्वाधिक बढ्दा बैंकिङ र विकास बैंक समूहमा पनि उल्लेख्य सुधार देखिएको छ।
व्यक्तिगत कम्पनीतर्फ कालंगा हाइड्रो लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। आरबीबी फोकस–४० र सानिगाड हाइड्रो लिमिटेडको सेयर मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ।
बैंकिङ संरचनामा सुधारको संकेत
मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको हालको क, ख, ग र घ वर्गीकरण प्रणाली पुनरावलोकन गर्ने संकेत पनि दिएको छ। आवश्यकता अनुसार विशिष्टीकृत बैंकिङ प्रणाली विकास गर्ने, सञ्चालन खर्च घटाउने र डिजिटल बैंकिङलाई थप प्रवर्द्धन गर्ने उद्देश्य राष्ट्र बैंकले लिएको छ।
शाखा विस्तार तथा व्यवस्थापन प्रक्रियालाई पनि थप लचिलो बनाउने नीति ल्याइएकाले बैंकिङ सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
प्राविधिक रूपमा निर्णायक मोडमा नेप्से
प्राविधिक विश्लेषणअनुसार नेप्से अहिले निर्णायक चरणमा पुगेको छ। पछिल्ला महिनाहरूमा लगातार घट्दो प्रवृत्तिमा रहेको बजार अहिले साँघुरिँदो त्रिकोण संरचनामा देखिएको छ, जसले आगामी दिनमा ठूलो चाल आउन सक्ने संकेत गर्दछ।
हाल २,८०१ विन्दु पहिलो प्रमुख प्रतिरोध क्षेत्रका रूपमा रहेको छ भने त्यसपछि २,८७९ र २,९११ विन्दु थप चुनौतीपूर्ण स्तर मानिएका छन्। यता २,६०९ विन्दु तत्कालीन समर्थन क्षेत्रका रूपमा रहेको छ। यो स्तरभन्दा माथि बजार टिक्न सके सुधारको सम्भावना बलियो रहनेछ भने तल झरेमा पुनः बिक्री दबाब बढ्न सक्ने विश्लेषण गरिएको छ।
कार्यान्वयनमै निर्भर रहने दीर्घकालीन प्रभाव
सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि र ५।५ प्रतिशतभित्र मुद्रास्फीति कायम गर्ने लक्ष्य राखेको छ। सोही लक्ष्यलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले विस्तारमुखी मौद्रिक नीति ल्याएको भए पनि यसको दीर्घकालीन प्रभाव बैंकहरूको कर्जा प्रवाह, निजी क्षेत्रको लगानी विस्तार, आर्थिक गतिविधिको पुनरुत्थान र सूचीकृत कम्पनीहरूको वित्तीय प्रदर्शनमा निर्भर रहने देखिन्छ।
हाल देखिएको बजार सुधारलाई लगानीकर्ताले मौद्रिक नीतिप्रतिको प्रारम्भिक सकारात्मक प्रतिक्रियाका रूपमा लिएका छन् भने आगामी दिनमा नीतिको प्रभावकारी कार्यान्वयनले नै बजारको दीर्घकालीन दिशा तय गर्नेछ।




.gif)





