काठमाडौँ, २३ असार । नेपाल राष्ट्र बैंकले वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले असार २३ गते नयाँ जनचेतनामूलक सन्देश जारी गरेको छ। राष्ट्र बैंकले सर्वसाधारणलाई बैंक तथा वित्तीय संस्थाबाट मात्र वित्तीय कारोबार गर्न, कुनै पनि योजना वा संस्थामा लगानी गर्नुअघि पर्याप्त जानकारी लिन र अवास्तविक रूपमा धेरै प्रतिफलको प्रलोभनमा नपर्न आग्रह गरेको छ।
राष्ट्र बैंकले डिजिटल बैंकिङ र विद्युतीय भुक्तानी सेवाको प्रयोग गर्दा ओटीपी, पिन, पासवर्ड तथा अन्य गोप्य विवरण कसैलाई पनि नदिन सचेत गराएको छ। साथै, अनलाइन ठगी, फिसिङ, नक्कली वेबसाइट तथा सामाजिक सञ्जालमार्फत हुने वित्तीय अपराधप्रति विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
सन्देशमा नियमित बचत गर्ने बानी बसाल्न, आवश्यकता अनुसार मात्र ऋण लिन, समयमै ऋण भुक्तानी गर्न र आफ्ना वित्तीय अधिकार तथा जिम्मेवारीबारे जानकारी राख्न पनि सुझाव दिइएको छ। राष्ट्र बैंकले वित्तीय साक्षरता नै सुरक्षित र समावेशी वित्तीय प्रणालीको आधार भएकाले सचेत र जिम्मेवार वित्तीय व्यवहार अपनाउन सबै नागरिकलाई आह्वान गरेको छ।





.gif)





