काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ मा देशभर धान रोपाइँ असार १९ गतेसम्म २४.९ प्रतिशत सम्पन्न भएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये ३ लाख ४१ हजार २०९.४६ हेक्टरमा रोपाइँ सकिएको हो।
मन्त्रालयले सार्वजनिक गरेको प्रदेशगत विवरणअनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ५७.९२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। त्यहाँ कुल १ लाख ५४ हजार ९५० हेक्टरमध्ये ८९ हजार ७४२ हेक्टर क्षेत्रमा धान रोपिएको छ।
त्यसपछि गण्डकी प्रदेशमा ९३ हजार ६०६ हेक्टरमध्ये ३५ हजार ८८१.४ हेक्टर (३८.३३ प्रतिशत) क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ भने बागमती प्रदेशमा १ लाख १४ हजार ५२४.४ हेक्टरमध्ये ३८ हजार २६.१७ हेक्टर (३३.२१ प्रतिशत) क्षेत्रमा धान रोपिएको मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेशमा कुल ४३ हजार २९० हेक्टरमध्ये १२ हजार १८५ हेक्टर (२८.१५ प्रतिशत) क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ भने लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ३७२ हेक्टरमध्ये ६२ हजार ६७०.८७ हेक्टर (२०.८० प्रतिशत) क्षेत्रमा धान रोपिएको छ।
यस्तै, मधेस प्रदेशमा ३ लाख ८५ हजार ९३३ हेक्टरमध्ये ६० हजार ३४६.०६ हेक्टर (१५.६४ प्रतिशत) तथा कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६.७३ हेक्टरमध्ये ४२ हजार ३५७.९६ हेक्टर (१५.३३ प्रतिशत) क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ।
मन्त्रालयका अनुसार यस वर्ष मनसुन ढिलो सक्रिय हुनुका साथै अधिकांश क्षेत्रमा पर्याप्त वर्षा हुन नसक्दा गत वर्षको तुलनामा धान रोपाइँको गति सुस्त देखिएको छ। पर्याप्त वर्षा नहुँदा किसानले सिँचाइ सुविधा भएका क्षेत्रमा मात्र रोपाइँलाई तीव्रता दिएका छन् भने वर्षामा निर्भर खेती हुने धेरै स्थानमा अझै रोपाइँ सुरु हुन सकेको छैन।
कृषि विज्ञहरूले आगामी केही साताभित्र मनसुन सक्रिय भई पर्याप्त वर्षा भए रोपाइँले गति लिने अपेक्षा गरेका छन्। धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले समयमै रोपाइँ सम्पन्न हुनु उत्पादन वृद्धि र खाद्य सुरक्षाका दृष्टिले महत्वपूर्ण मानिन्छ।




.gif)





