काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिनु र निजी क्षेत्रबाट कर्जाको माग सुस्त रहनुले वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) लगातार घटिरहेको छ। निक्षेपको लागत कम भएसँगै बैंकहरूले आधार दर घटाउँदै लगेका छन्, जसको प्रत्यक्ष लाभ नयाँ तथा परिवर्तनीय ब्याजदरमा कर्जा लिएका ऋणीहरूले पाउने भएका छन्।
औसत आधार दर पहिलो पटक ५ प्रतिशतभन्दा तल
चालु आर्थिक वर्षको वैशाख, जेठ र असार महिनाको औसत आधार दर ४.९७ प्रतिशतमा झरेको छ। यो पहिलो पटक वाणिज्य बैंकहरूको औसत बेस रेट ५ प्रतिशतभन्दा तल पुगेको हो।
बैंकहरूले कर्जाको ब्याजदर निर्धारण गर्दा यही तीन महिनाको औसत आधार दरमा निश्चित प्रिमियम थप्ने भएकाले आधार दर घटेसँगै कर्जाको ब्याज पनि सस्तो हुँदै गएको छ।
किन घटिरहेको छ आधार दर?
आर्थिक गतिविधि अपेक्षाअनुसार विस्तार हुन नसक्दा बैंकहरूमा लगानीयोग्य रकम (तरलता) प्रशस्त भए पनि कर्जाको माग कमजोर छ।
चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरूले ७ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरे पनि २ खर्ब ८९ अर्ब रुपैयाँ मात्र कर्जा विस्तार गर्न सकेका छन्। यही कारण निक्षेपको ब्याजदर घटाउन बैंकहरू बाध्य भएका छन्, जसको असर आधार दरमा परेको हो।
कुन बैंकमा सबैभन्दा सस्तो आधार दर?
हाल सबैभन्दा कम आधार दर भएका बैंकहरू यसप्रकार छन्–
स्ट्याण्डर्ड चार्टर्ड बैंक – ४.२१%
राष्ट्रिय वाणिज्य बैंक – ४.२२%
एभरेष्ट बैंक – ४.३८%
नबिल बैंक – ४.५३%
नेपाल बैंक – ४.५९%
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक – ४.७५%
ग्लोबल आईएमई बैंक – ४.८३%
कृषि विकास बैंक – ४.९४%
सानिमा बैंक – ४.९९%
त्यसैगरी,
प्रभु बैंक – ५.०७%
माछापुच्छ्रे बैंक – ५.०८%
सिद्धार्थ बैंक – ५.१३%
लक्ष्मी सनराइज बैंक – ५.१६%
प्राइम बैंक – ५.१८%
एनएमबि बैंक – ५.१८%
सिटिजन्स बैंक – ५.२०%
कुमारी बैंक – ५.२७%
नेपाल एसबिआई बैंक – ५.२८%
हिमालयन बैंक – ५.३९%
एनआईसी एशिया बैंक – ६.०४%
ऋण लिनुअघि यी कुरा पनि हेर्नुस्
बैंकहरूले आधार दरमा १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जाको अन्तिम ब्याजदर निर्धारण गर्ने गर्छन्। त्यसैले ऋण लिँदा आधार दर मात्रै होइन, बैंकले लिने अतिरिक्त प्रिमियम, सेवा शुल्क, कर्जाको प्रकृति, भुक्तानी सर्त र सेवा गुणस्तरसमेत तुलना गरेर निर्णय गर्नु उपयुक्त हुन्छ।
बेस रेटमा आएको निरन्तर गिरावटले आगामी दिनमा कर्जाको लागत थप घट्ने अपेक्षा गरिएको छ। तर, अन्तिम ब्याजदर भने प्रत्येक बैंकको प्रिमियम नीति र ग्राहकको कर्जा प्रोफाइलका आधारमा फरक पर्ने भएकाले ऋण लिनुअघि विस्तृत जानकारी लिन आवश्यक छ।




.gif)





