काठमाडौं । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गरेका शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त भएका छन्। शिक्षा क्षेत्रको नीतिगत सुधार, सीपमूलक शिक्षाको विस्तार, डिजिटल शिक्षाको प्रवर्द्धन तथा प्रविधिमैत्री शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित उनको नियुक्ति गरिएको हो।
मन्त्रालयले झाको नियुक्तिसँगै विद्यालय शिक्षा सुधार, अनुसन्धानमा आधारित नीति निर्माण, सीपमूलक शिक्षाको विस्तार तथा शिक्षा क्षेत्रमा नवीन सोचको कार्यान्वयनले थप गति लिने विश्वास व्यक्त गरेको छ। शिक्षा प्रशासन, नेतृत्व विकास, सुशासन तथा सार्वजनिक नीतिमा लामो अनुभव बटुलेका झाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा शिक्षा सुधारका विभिन्न कार्यक्रममा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।
हाल झा अमेरिकी विदेश मन्त्रालयद्वारा सञ्चालित प्रतिष्ठित ह्युबर्ट एच.हम्फ्रे फेलोसिप (२०२५।२६) अन्तर्गत अमेरिकाको भ्यान्डरबिल्ट विश्वविद्यालयमा अध्ययन तथा व्यावसायिक अनुसन्धानमा संलग्न थिए। उक्त कार्यक्रम मार्फत उनले शिक्षा, नेतृत्व, सार्वजनिक नीति तथा सुशासनसम्बन्धी अध्ययन गर्दै अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य समेत गरेका छन्।
यसअघि उनी काठमाडौं महानगरपालिकाको शहरी योजना आयोगमा शिक्षा, प्रविधि तथा सामाजिक नवप्रवर्तनसम्बन्धी बोर्ड सदस्यका रूपमा कार्यरत थिए। सो अवधिमा उनले शिक्षा तथा सामाजिक विकाससँग सम्बन्धित नीति निर्माण, योजना तर्जुमा, स्रोत व्यवस्थापन तथा अनुगमनमा सक्रिय भूमिका खेलेका थिए। उनको नेतृत्वमा सीपमेला, बुक फ्रि फ्राइडे, सिर्जनात्मक सिकाइ, विद्यालय सौन्दर्यीकरण, शिक्षक क्षमता विकास, अनुसन्धानमा आधारित शैक्षिक कार्यक्रम तथा विशेष विद्यालय सुदृढीकरणजस्ता कार्यक्रम सञ्चालन भएका थिए।
झाले टिचर्स फर नेपालमा करिब आठ वर्ष सञ्चालन निर्देशक, भर्ती तथा छनोट निर्देशक तथा भर्ती व्यवस्थापकका रूपमा कार्य गर्दै संस्थागत रणनीति, मानव स्रोत व्यवस्थापन, शिक्षक छनोट प्रणाली, नेतृत्व विकास, सञ्चार तथा साझेदारी विस्तारमा महत्वपूर्ण योगदान दिएका छन्।
उनी बीआईटीएस लिडर इन्टरनेशनल प्रालिका संस्थापक अध्यक्षसमेत हुन्। उक्त संस्थामार्फत स्मार्ट लर्निङ, नवप्रवर्तनमा आधारित सिकाइ, अन्तरपुस्ते शिक्षा, प्राविधिक तथा व्यावसायिक तालिम, युवा उद्यमशीलता, रोजगारी प्रवर्द्धन, नेतृत्व विकास तथा संस्थागत क्षमता अभिवृद्धिसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
शैक्षिक योग्यताका हिसाबले झाले जर्मनीबाट सूचना तथा सञ्चार इन्जिनियरिङ, फिलिपिन्सबाट विकास व्यवस्थापन तथा बंगलादेशबाट एप्लाइड इकोनोमिक्समा स्नातकोत्तर उपाधि हासिल गरेका छन्। उनले नेपालको शिक्षा प्रणाली सुधारसम्बन्धी विभिन्न अनुसन्धान पनि गरेका छन्।
दक्षिण कोरिया, केन्या, बंगलादेश, अष्ट्रेलिया, चिली, थाइल्यान्ड, भारत, फिलिपिन्स तथा युरोपका विभिन्न मुलुकमा आयोजित शिक्षा, नेतृत्व, सार्वजनिक नीति, विपद् जोखिम न्यूनीकरण तथा नवप्रवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन तथा कार्यशालामा उनले नेपालको प्रतिनिधित्व गरिसकेका छन्।
शिक्षा प्रशासन, सार्वजनिक नीति, सुशासन, नेतृत्व विकास, रणनीतिक योजना, उद्यमशीलता, परियोजना व्यवस्थापन, प्रविधि तथा नवप्रवर्तन उनका प्रमुख विशेषज्ञताका क्षेत्र हुन्। शिक्षा सुधार, युवा विकास, सामाजिक रूपान्तरण तथा सार्वजनिक नीतिसम्बन्धी उनका विभिन्न अनुसन्धान, लेख तथा विश्लेषण राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रकाशनमा प्रकाशित भएका छन्।
शिक्षा मन्त्रालयले झाको अनुभव र विज्ञताले नेपालको विद्यालय शिक्षा सुधार, सीपमूलक तथा प्राविधिक शिक्षाको विस्तार, डिजिटल शिक्षाको प्रवर्द्धन र अनुसन्धानमा आधारित नीति निर्माणलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।




.gif)





