काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२५’ अन्तर्गत कास्य (ब्रोन्ज) पुरस्कार प्राप्त गरेको छ।
बैंकले तयार पारेको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, संस्थागत सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यासलाई मूल्याङ्कन गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो। यस सम्मानले बैंकको वित्तीय प्रतिवेदन तयार गर्ने गुणस्तरीय अभ्यास तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सूचना खुलासा प्रणालीलाई समेत मान्यता दिएको छ।
काठमाडौंमा आयोजित एक औपचारिक समारोहमा बैंकका नायव महाप्रबन्धक सुभाष जमरकट्टेल ले उक्त पुरस्कार ग्रहण गरेका थिए। कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्था, लेखा व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैंकका अनुसार यो सम्मानले संस्थागत सुशासन, पारदर्शिता, वित्तीय अनुशासन तथा उत्तरदायी व्यवस्थापनप्रति बैंकको प्रतिबद्धतालाई थप बलियो बनाएको छ। बैंकले वार्षिक प्रतिवेदनलाई वित्तीय विवरण प्रस्तुत गर्ने माध्यम मात्र नभई लगानीकर्ता, नियामक निकाय, सेवाग्राही तथा अन्य सरोकारवालाप्रति उत्तरदायित्व निर्वाह गर्ने महत्वपूर्ण दस्तावेजका रूपमा लिँदै आएको जनाएको छ।
माछापुच्छ्रे बैंकले अन्तर्राष्ट्रिय स्तरका वित्तीय प्रतिवेदन मापदण्ड तथा सुशासनका सिद्धान्तलाई आत्मसात् गर्दै उच्च गुणस्तरका वार्षिक प्रतिवेदन प्रकाशन गर्ने अभ्यासलाई निरन्तरता दिएको उल्लेख गरेको छ। यसले बैंकको वित्तीय व्यवस्थापन, जोखिम व्यवस्थापन, सूचना खुलासा तथा संस्थागत उत्तरदायित्वलाई अझ प्रभावकारी बनाएको बैंकको विश्वास छ।
बैंकले प्राप्त गरेको यस कास्य पुरस्कारले आगामी दिनमा अझ उत्कृष्ट वित्तीय प्रतिवेदन तयार गर्न, संस्थागत पारदर्शिता अभिवृद्धि गर्न तथा सरोकारवालाको विश्वासलाई थप सुदृढ बनाउन प्रेरणा मिल्ने जनाएको छ। साथै, सुशासन, उत्तरदायित्व र पारदर्शितालाई बैंकको दीर्घकालीन रणनीतिक प्राथमिकताका रूपमा अघि बढाउँदै गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता पनि दोहोर्याएको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले प्रदान गर्दै आएको ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड’ वित्तीय प्रतिवेदनको गुणस्तर, सूचना खुलासा, पारदर्शिता, उत्तरदायित्व तथा सुशासनका आधारमा प्रदान गरिने प्रतिष्ठित सम्मान मानिन्छ। यस पुरस्कारले नेपाली संस्थाहरूलाई अन्तर्राष्ट्रिय स्तरका प्रतिवेदन अभ्यास अवलम्बन गर्न प्रोत्साहन गर्दै वित्तीय क्षेत्रको विश्वसनीयता र पारदर्शिता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।




.gif)





