काठमाडौं, असार १७ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंक ले फेरि ४५ अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ख’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले बुधबार एकवर्षे अवधिको ऋणपत्र बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार यस ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र आवेदन दिन सक्नेछन्। बोलकबोल प्रक्रिया बुधबार दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत सञ्चालन हुनेछ। बोलकबोलकै आधारमा ऋणपत्रको ब्याजदर निर्धारण गरिने व्यवस्था गरिएको छ।
जारी हुने ऋणपत्रको अवधि एक वर्ष रहनेछ। यसको साँवा २०८४ असार १७ गते भुक्तानी गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ।
बोलपत्र न्यूनतम ५ करोड रुपैयाँदेखि सुरु हुनेछ। त्यसपछि ५ करोड रुपैयाँकै गुणकमा कुल आह्वान गरिएको ४५ अर्ब रुपैयाँसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले जारी गर्ने यो ऋणपत्रलाई राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिने व्यवस्था रहेको छ।
बैंकिङ प्रणालीमा पछिल्लो समय तरलता उच्च रहेकाले त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले नियमित रूपमा निक्षेप संकलन उपकरण तथा ऋणपत्रमार्फत बजारबाट रकम तान्ने नीति अवलम्बन गर्दै आएको छ।




.gif)





