काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) बीच रणनीतिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। दुवै संस्थाले ‘स्टडी इन नेपाल’ अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने, उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणलाई प्रवर्द्धन गर्ने तथा नेपालको शिक्षा क्षेत्रलाई विश्वसामु थप प्रतिस्पर्धी र विश्वसनीय बनाउने लक्ष्यसहित सहकार्य गर्ने भएका हुन्।

काठमाडौंमा आयोजित कार्यक्रममा इक्यानका अध्यक्ष लक्ष्मण पौडेल र आइप्यानका अध्यक्ष लक्ष्मण केसीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौतापछि नेपालमा गुणस्तरीय उच्च शिक्षाको प्रवर्द्धन, अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्ने अभियान तथा शैक्षिक संस्थाहरूबीचको समन्वयलाई संस्थागत रूपमा अघि बढाइने विश्वास गरिएको छ।
समझदारीअनुसार अब इक्यानका सदस्य शैक्षिक परामर्शदाता संस्थाहरूले आइप्यानमा आबद्ध कलेज तथा उच्च शिक्षा संस्थाहरूमा सञ्चालित शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया, छात्रवृत्ति, अध्ययनका अवसर, प्रवेश मापदण्ड तथा करियरसम्बन्धी अद्यावधिक जानकारी प्रत्यक्ष रूपमा प्राप्त गर्नेछन्। यसले विद्यार्थी र अभिभावकलाई तथ्यपरक, पारदर्शी तथा गुणस्तरीय शैक्षिक परामर्श उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
दुवै संस्थाले व्यावसायिक, नैतिक, पारदर्शी र जिम्मेवार कार्यसंस्कृतिको विकास गर्दै शिक्षा क्षेत्रमा दीर्घकालीन सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थीका लागि आकर्षक अध्ययन गन्तव्यका रूपमा स्थापित गर्न संयुक्त रूपमा प्रचार–प्रसार, शैक्षिक ब्रान्डिङ, अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना, अनुसन्धान, अन्तर्राष्ट्रिय साझेदारी तथा शैक्षिक कूटनीति विस्तार गर्ने सहमति भएको छ।
समझदारीको अर्को महत्वपूर्ण पक्षका रूपमा इक्यान र आइप्यानले संयुक्त रूपमा क्षमता अभिवृद्धि कार्यक्रम, अन्तरक्रिया, शैक्षिक अभिमुखीकरण, अनुसन्धान, नीतिगत संवाद, बीटूबी नेटवर्किङ, अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन तथा ‘स्टडी इन नेपाल’ अभियानअन्तर्गत राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने भएका छन्। यसबाट शिक्षा क्षेत्रमा कार्यरत संस्थाबीच सूचना आदान–प्रदान, सहकार्य तथा समन्वय थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै दुवै संस्थाले आर्थिक रूपमा कमजोर, जेहेन्दार, प्रतिभाशाली तथा अवसरबाट वञ्चित विद्यार्थीलाई छात्रवृत्ति र विशेष शैक्षिक अवसर उपलब्ध गराउन सहकार्य गर्ने सहमति गरेका छन्। यसले उच्च शिक्षामा पहुँच विस्तार गर्नुका साथै समावेशी शिक्षा प्रणालीलाई बल पुग्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा बोल्दै इक्यानका अध्यक्ष लक्ष्मण पौडेलले नेपालमा अन्तर्राष्ट्रियस्तरको अध्ययन वातावरण निर्माण गर्न नीतिगत सुधार आवश्यक रहेको बताए। आइप्यानका अध्यक्ष लक्ष्मण केसीले नेपालमै अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा उपलब्ध गराएर विदेशी विद्यार्थी आकर्षित गर्न सकिने उल्लेख गर्दै सरकार, विश्वविद्यालय, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने धारणा राखे।
पूर्वअध्यक्ष शेषराज भट्टराई, आइप्यानकी महासचिव शैलजा अधिकारीलगायतले पनि ‘स्टडी इन नेपाल’ अभियानलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउन सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका थिए।
इक्यानले विगत तीन दशकदेखि नेपाली विद्यार्थीलाई विश्वका प्रतिष्ठित शैक्षिक संस्थासम्म पहुँच दिलाउँदै सुरक्षित, नैतिक र गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ। त्यस्तै आइप्यान विदेशी विश्वविद्यालयको सम्बन्धन प्राप्त तथा नेपाल सरकारबाट स्वीकृत उच्च शिक्षा संस्थाहरूको साझा संस्था हो, जसले नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा, अनुसन्धान, नवप्रवर्तन तथा शैक्षिक सहकार्यलाई प्रवर्द्धन गर्दै आएको छ।
दुवै संस्थाबीच भएको यो समझदारीले नेपालको उच्च शिक्षा क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी, विद्यार्थीमैत्री र अन्तर्राष्ट्रिय रूपमा विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै ‘स्टडी इन नेपाल’ अभियानलाई संस्थागत रूपमा अघि बढाउँदै नेपाललाई दक्षिण एसियाकै उदाउँदो शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्ने साझा लक्ष्यमा यो सहकार्य महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।




.gif)





