काठमाडौं, १३ असार । दाङको बहुप्रतीक्षित घोराही–तुलसीपुर चारलेन सडक निर्माणले नयाँ गति लिएको छ। सडक विस्तारका लागि आवश्यक रुख कटानको अनुमति प्राप्त भएपछि वन डिभिजन कार्यालयले रुख हटाउने काम सुरु गरेको छ। अब विद्युत्का खम्बा स्थानान्तरण र रुख कटान सम्पन्न भएसँगै मुख्य निर्माण कार्य तीव्र रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।
वन डिभिजन कार्यालय दाङका अनुसार घोराहीदेखि तुलसीपुरसम्मको सडक विस्तारका लागि ५९ वटा रुख काट्नुपर्ने भएको छ। तीमध्ये २० भन्दा बढी पिपलका रुख रहेका छन्। वन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी रुख कटानको आदेश दिएपछि अहिले सम्बन्धित निकायले रुख हटाउने कार्य गरिरहेको जनाएको छ।
निर्माण कम्पनी श्री दिवाबन्दना भगवती जेभी का इञ्जिनियर सुनिल ढुङ्गानाका अनुसार केही स्थानमा विद्युत्का खम्बा हटाइसकिएको छ भने घोराहीको सर्रा क्षेत्र र तुलसीपुर क्षेत्रमा बाँकी रहेका खम्बा पनि छिट्टै हटाइनेछ। उनका अनुसार खम्बा स्थानान्तरणका कारण निर्माण कार्य रोकिने अवस्था छैन।
हालसम्म आयोजनाको करिब १५ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ। अहिले विभिन्न स्थानमा रिटेनिङ वाल, नाली र कल्भर्ट निर्माणको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ। सडक घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्म निर्माण हुनेछ।
करीब २१.५८ किलोमिटर लम्बाइको यो सडक चार लेनमा विस्तार गरिनेछ। बजार क्षेत्रमा फुटपाथ सहितको चारलेन सडक रहनेछ भने अन्य क्षेत्रमा चार लेन सडक मात्रै निर्माण हुनेछ। सडकको बीचभागमा मेडियन निर्माण गरिनेछ, जसले सवारी व्यवस्थापनलाई सुरक्षित र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
इञ्जिनियर ढुङ्गानाका अनुसार हाल रहेको पुरानो कालोपत्र हटाएर आवश्यक स्थानमा कटिङ तथा फिलिङ गरिनेछ। त्यसपछि मात्रै नयाँ कालोपत्रको काम सुरु हुनेछ। सडक निर्माणमा आधुनिक अस्फाल्ट प्रविधि प्रयोग गरिने भएकाले सडक थप मजबुत र दीर्घकालीन हुने विश्वास गरिएको छ।
यो आयोजना सडक सुधार आयोजना अन्तर्गतको मदन भण्डारी सडक मार्ग परियोजना मार्फत अघि बढाइएको हो। निर्माणको अनुगमन सडक डिभिजन कार्यालय दाङले गरिरहेको छ।
सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टका अनुसार गत असार २४ गते भ्याटबाहेक रु २ अर्ब २४ करोड ५६ लाख लागतमा निर्माण सम्झौता गरिएको हो। सम्झौताअनुसार आयोजना ३६ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ।
यसअघि निर्माण कम्पनीले काम अघि नबढाएपछि पुरानो ठेक्का रद्द गरिएको थियो। त्यसपछि २०८१ साउनदेखि नयाँ प्रक्रिया सुरु गरी पुनः बोलपत्र आह्वान गरिएको थियो। अहिले नयाँ निर्माण कम्पनीमार्फत आयोजना नियमित रूपमा अघि बढिरहेको छ।
सडक विस्तारसँगै सेवार खोला, हापुर खोला, ग्वार खोला र कालाखोलामा चारलेन पुल निर्माणको प्रक्रिया पनि अगाडि बढिसकेको सडक डिभिजन कार्यालयले जनाएको छ।
घोराही–तुलसीपुर सडक चारलेनमा विस्तार भएपछि दाङको यातायात सहज हुने, दुर्घटना न्यूनीकरण हुने तथा व्यापार, पर्यटन र आर्थिक गतिविधिमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको छ।




.gif)





