काठमाडौं, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। सभापति पदमा उहाँको मात्रै उम्मेदवारी परेपछि निर्वाचन आयोगले निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सभापति पदमा एकल उम्मेदवारी परेकाले निर्वाचन प्रक्रियाबिनै लामिछानेलाई विजयी घोषणा गरिएको हो। महाधिवेशनअन्तर्गत अन्य केन्द्रीय समिति सदस्य पदका लागि भने उम्मेदवारी दर्ता प्रक्रिया जारी रहेको जनाइएको छ।
निर्वाचन आयोगका अनुसार केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको मनोनयन दर्ता राति १२ बजेसम्म जारी रहनेछ। त्यसपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने र मतदान प्रक्रिया अगाडि बढाइनेछ।
आयोगले भोलि बिहान ८ बजेदेखि मतदान सुरु हुने जनाएको छ। महाधिवेशनमा करिब ४ हजार ५ सयभन्दा बढी प्रतिनिधि तथा मतदाताले मतदान गर्ने अपेक्षा गरिएको छ। मतदान प्रक्रिया सम्पन्न गर्न करिब ८ घण्टा लाग्ने अनुमान गरिएको छ।
निर्वाचन आयोगले मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्र मतगणना सकिने र अन्तिम परिणाम सार्वजनिक गरिने जानकारी दिएको छ। रास्वपाको पहिलो महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक दिशा, संगठन विस्तार तथा पार्टी सुदृढीकरणका विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
पार्टी स्थापना भएयता पहिलो पटक आयोजित महाधिवेशनलाई रास्वपाले संगठनात्मक रूपमा महत्वपूर्ण अवसरका रूपमा लिएको छ। महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै पार्टीको भावी रणनीति, नीति तथा संगठनात्मक संरचनालाई थप मजबुत बनाउने लक्ष्य राखिएको जनाइएको छ।
रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएसँगै पार्टी नेतृत्वमा निरन्तरता कायम भएको छ भने अब महाधिवेशनको ध्यान केन्द्रीय समिति र अन्य पदाधिकारीहरूको चयनतर्फ केन्द्रित भएको छ।




.gif)





