नेपाल मेडिकल काउन्सिलले डाक्टरहरूको लाइसेन्स परीक्षा उपत्यकाबाहिर पनि सुरु गर्ने भएको छ । काउन्सिलको बैठकले आउँदो आर्थिक वर्षदेखि चिकित्सक दर्ता प्रमाण (लाइसेन्स) परीक्षा काठमाडौंबाहिर सञ्चालन गर्ने निर्णय गरेको हो । काउन्सिलले स्वास्थ्य क्षेत्रको नियमन, कानुनी सुधार तथा चिकित्सकहरूको डिजिटल व्यवस्थापनसँग सम्बन्धित १८ वटा निर्णय गरेको छ ।
त्यसैगरी, काउन्सिलले अवैध चिकित्सकीय अभ्यास नियन्त्रणका लागि एन्टी–क्वेकरी गाइडलाइन, २०८३’ लाई सैद्धान्तिक रूपमा स्वीकृत गरेको छ । र, अन्तिममा स्वीकृतिका लागि स्वास्थ्य मन्त्रालयमा पठाउने निर्णय गरेको छ । काउन्सिलले ‘नेसनल मेडिकल रजिस्ट्री’ निर्माण प्रक्रिया अघि बढाउने तथा दर्ता भएका सबै चिकित्सकहरूको डिजिटल प्रोफाइल तयार गर्ने र वेबसाइटमा चिकित्सकहरूको शैक्षिक योग्यता र डिग्रीसम्बन्धी विवरण अद्यावधिक गर्नेछ ।






