काठमाडौं । ललितपुरको नख्खुमा सञ्चालित एनसेल बिजनेसको अत्याधुनिक डाटा सेन्टरले विश्वकै प्रतिष्ठित ‘एएनएसआई/टीआईए–९४२–सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रकटेड फसिलिटी सर्टिफिकेशन’ प्राप्त गरेको छ । यो अन्तर्राष्ट्रिय मान्यता प्राप्त टीयर थ्री प्रमाणीकरण पाएसँगै डाटा सेन्टरले आफ्नो विश्वसनीयता, सुरक्षा र गुणस्तरको उच्च मापदण्डलाई विश्वस्तरमा स्थापित गरेको एनसेलले जनाएको छ ।
यो प्रमाणीकरणले एनसेल डाटा सेन्टरको डिजाइन र निर्माण ‘रेटिङ थ्री’ को कडा मापदण्डअनुसार रहेको पुष्टि गर्ने कम्पनीको भनाइ छ । यसको मुख्य विशेषता भनेको संवेदनशील कार्य सञ्चालनका लागि आवश्यक उच्च उपलब्धता र प्रतिकूल परिस्थितिमा पनि छिट्टै पुनःस्थापना हुन सक्ने क्षमता हो । ९९.९८२ प्रतिशत अपटाइम सुनिश्चित गर्ने यो डाटा सेन्टरलाई यसरी डिजाइन गरिएको छ कि पूर्व निर्धारित मर्मतसम्भार वा कुनै आकस्मिक प्राविधिक समस्या उत्पन्न हुँदा पनि सेवामा कुनै अवरोध आउँदैन । पूर्ण रूपमा ब्याकअप विद्युत आपूर्ति, कुलिङ र नेटवर्क प्रणालीमार्फत यसले निरन्तर सेवाको ग्यारेन्टी गर्ने कम्पनीको भनाइ छ ।यस उपलब्धिको बारेमा बोल्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले यो प्रमाणीकरण एनसेल र नेपालकै लागि एउटा कोशेढुङ्गा भएको बताए । उनका अनुसार, नेपालबाट डिजाइन एन्ड कन्स्ट्रकटेड फसिलिटीमा यो स्तरको टीआईए प्रमाणीकरण पाउने एनसेल पहिलो संस्था हो ।
विश्वस्तरीय डिजिटल पूर्वाधार उपलब्ध गराउँदै स्थानीय व्यवसायलाई विस्तार गर्न आत्मविश्वास दिने र सरकारको डिजिटल रूपान्तरणको लक्ष्यलाई सघाउने एनसेलको प्रतिबद्धता रहेको उनले स्पष्ट पारे । अब नेपालकै सुरक्षित र सधैँ उपलब्ध रहने सेवामा विभिन्न संवेदनशील क्षेत्रका ग्राहकहरूले निर्धक्क भएर भरोसा गर्न सक्नेछन् ।टेलिकम्युनिकेशन इन्डष्ट्री एसोसिएसन (टीआईए) बाट अधिकार प्राप्त अडिट संस्था डाटा सेन्टर मिडिया एलएलपीले यो मूल्यांकन तथा प्रमाणीकरण गरेको हो ।




.gif)





