images

२०८३ आश्विन १७ गते

images
images
images

छिनामखुमा परम्परागत बालीको विकल्प बन्दै सुन्तला

छिनामखुमा परम्परागत बालीको विकल्प बन्दै सुन्तला

विकल्प बन्दै सुन्तला

images
images
शुक्रवार, जेठ २२ २०८३
शुक्रवार, जेठ २२ २०८३
  • भोजपुर, २२ जेठ । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा सुन्तलाखेती परम्परागत बालीको विकल्प बन्दै गएको छ । परम्परागत अन्नबालीभन्दा कम मिहिनेतमा राम्रो आम्दानी लिन सकिने, एकपटक बगान विस्तार गरेपछि वर्षौँसम्म निरन्तर उत्पादन दिने तथा बजारको सहज पहुँच हुनेजस्ता कारणले किसानको रोजाइ सुन्तलाखेती बन्न पुगेको हो ।

    images
    images

    यहाँका किसानले बारी तथा पाखो जमिनको उपयोग गर्दै सुन्तलाका बगान विस्तार गरिरहेका छन् । सामान्य सिँचाइ, मलखाद व्यवस्थापन र रोगकीरा नियन्त्रणमा ध्यान दिन सकेमा सुन्तलाबाट स्थिर आम्दानी लिन सकिने अनुभव किसान सुनाउँछन् । यही कारणले युवा पुस्तासमेत कृषि पेसातर्फ आकर्षित हुन थालेका छन् ।

    टेम्केमैयुङ–२ का वडासदस्य जीवन राईका अनुसार छिनामखु क्षेत्रका किसानले वार्षिक रूपमा रु एक लाखदेखि रु सात लाखसम्म आम्दानी गर्दै आएका छन् । उत्पादनको मात्रा, बगानको आकार र व्यवस्थापनका आधारमा आम्दानी फरकफरक हुने गरेको उनले बताएका छन् । “सुन्तला यहाँका किसानका लागि भरपर्दो आम्दानीको स्रोत बनेको छ, धेरै किसानले बगान विस्तार गरिरहेका छन् । पहिले सानोस्तरमा खेती गर्नेहरू पनि अहिले व्यावसायिक रूपमा अघि बढिरहेका छन्”, उनले भनेका छन् ।

    images
    images

    वडाअन्तर्गतका बारताङ, छाम्लाखा, कोटाचुङ, राईखीम, ठेवा, रिठाबोटे, रातोमाटे र देवीथानलगायत टोलहरूमा सुन्तलाखेती बढी मात्रा हुने राईले जानकारी दिनुभयो । यी क्षेत्रमा उत्पादन भएको सुन्तला गुणस्तरीय हुने भएकाले बजारमा राम्रो माग छ । सडकको राम्रो पहुँच भएकाले यहाँ उत्पादन भएको सुन्तला खरिद गर्न ठेकेदार सिधैँ किसानको घरसम्म पुग्ने गरेका छन् । जसले गर्दा बजार खोज्न झन्झट व्यहोर्नु नपर्ने किसानको भनाइ छ । ठेकेदारले बगानबाट सोझै खरिद गर्ने भएकाले बेचबिखनका लागि कुनै समस्या नरहेको किसान बताउँछन् ।
     
    सुन्तला बिक्रीबाट प्राप्त आम्दानीले घरखर्च, बालबालिकाको शिक्षा, स्वास्थ्योपचार तथा अन्य आवश्यकता सहज रूपमा पूरा गर्न सहयोग पुगेको स्थानीय किसान रुद्रबहादुर विष्टले बताएका छन् । केही किसानले त सुन्तलाखेतीबाट भएको आम्दानीलाई अन्य कृषि व्यवसायमा पनि लगानी गर्न थालेको उनको भनाइ छ ।
     
    सुन्तलाखेतीको सम्भावनालाई मध्यनजर गर्दै वडाले यस क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै आएको वडाध्यक्ष बालचन्द्र राईले जानकारी दिएका छन् । उन्नत जातका बिरुवा वितरण, प्राविधिक सहयोग, तालिम तथा बगान व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रममार्फत किसानलाई सहयोग गर्दै आएको उनले बताएका छन् ।

    “हाम्रो वडा सुन्तला उत्पादनका लागि निकै उपयुक्त क्षेत्र हो”, वडाध्यक्ष राईले भन्नुभयो, “विशेषगरी तल्लो भेगमा राम्रो उत्पादन हुने भएकाले त्यही अनुसार खेती विस्तार भइरहेको छ । वडाले किसानलाई प्रोत्साहन गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिरहेको छ ।”

    उहाँका अनुसार पछिल्लो समय सुन्तलाखेतीमा आकर्षण बढ्दै जाँदा बाँझो जमिनको सदुपयोग हुन थालेको छ । यसले वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुर्याउनुका साथै स्थानीयस्तरमा रोजगारी सृजना गर्ने कामसमेत गरेको छ । छिनामखु क्षेत्रमा सुन्तलाखेतीले किसानको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । निरन्तर विस्तार भइरहेको यस खेती प्रणालीले भविष्यमा अझै ठूलो आर्थिक सम्भावना रहेको स्थानीयले बताएका छन् । गाउँमा सबैतिर सुन्तला विस्तार भएकाले बाहिरबाट आउने मानिसले आकर्षित गर्ने गरेको किसानको भनाइ छ । 

    सुन्तलामा पछिल्लो समय पात पहेँलो हुने, फलमा खरानीजस्तो सेतो देखिने, पातमा विभिन्न खालका दाग देखिने तथा बोट क्रमशः सुक्दै जाने समस्या देखिने गरेको किसानले बताएका छन् । कृषि प्राविधिकका अनुसार समुद्री सतहबाट करिब आठ सयदेखि एक हजार ५०० मिटर उचाइसम्मको क्षेत्र सुन्तलाखेतीका लागि सबैभन्दा उपयुक्त मानिन्छ । यस उचाइमा तापक्रम, माटोको अवस्था र वातावरणीय सन्तुलन सुन्तला उत्पादनका लागि अनुकूल हुने प्राविधिकहरू बताउँछन् ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend