images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • झुपडीबाट पक्की घरमाः फेरिँदै लहानको मुसहर...

झुपडीबाट पक्की घरमाः फेरिँदै लहानको मुसहर बस्ती

झुपडीबाट पक्की घरमाः फेरिँदै लहानको मुसहर बस्ती

images
images
बुधवार, जेठ २० २०८३
बुधवार, जेठ २० २०८३
  • सिरहा, २० जेठ । सिरहाको लहान नगरपालिका—२२ जहदी गमहरियास्थित मुसहर बस्तीको अचेल रूपरेखा फेरिएको छ । हिजोसम्म च्यातिएका त्रिपाल र जीर्ण फुसका छाप्राहरूले भरिएको यो बस्तीमा अहिले लहरै २४ वटा आधुनिक पक्की घरहरू ठडिएका छन् । 

    images
    images

    लहान नगरपालिका र ‘ह्याबिट्याट फर ह्युमानिटी नेपाल’को कुल रु एक करोड २८ लाखभन्दा बढीको द्विपक्षीय लगानी, स्थानीय भवानी एकीकृत विकास केन्द्रको प्राविधिक सहयोग तथा सहजीकरण र स्थानीयको श्रमदानमा निर्माण गरिएका यी सुरक्षित घरहरूले वर्षौंदेखि ओत खोजिरहेका दलित परिवारको जीवनस्तर नै बदलिदिएको छ ।

    यो सुखद परिवर्तनले बस्तीकी ५० वर्षीया शान्ति सदायको अनुहारमा पनि बेग्लै चमक ल्याएको छ । वर्षाको समयमा छानोबाट पानी चुहिएर रातभर जाग्राम बस्नुपर्ने र जाडोमा शीतलहरले जीउ काप्ने कष्टकर दिनहरू अब सदाका लागि अन्त्य भएका छन् । नयाँ पक्की घरको छेवैमा रहेको पुरानो जीर्ण फुसको छाप्रोलाई देखाउँदै उहाँ हर्षित मुद्रामा भन्नुहुन्छ, “छोरा धर्मदेव, बुहारी सोनी र चार जना नातिनातिनाको साथमा यो सानो झुपडीमा कति कष्ट सहेर बस्यौँ, त्यो त भगवान्लाई मात्र थाहा छ । अब त आफ्नै पक्की घर भयो, ढुक्कले निदाउन पाइने भयो ।”

    images
    images

    शान्तिको जस्तै खुसी सोही टोलका जहर मोची र घुघरी मोचीको अनुहारमा पनि प्रस्टै देखिन्छ । मजदुरी गरेर जेनतेन जीविका चलाउँदै आएका उनीहरूका लागि पक्की घर केवल एक सपना जस्तै थियो, जुन अहिले विपनामा परिणत भएको छ । 

    जहदी गमहरियाका यी मुसहर तथा दलित बस्तीका २४ विपन्न परिवारका लागि मङ्गलबारको दिन उत्सव जस्तै बन्यो, जब ‘विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण कार्यक्रम’ अन्तर्गत निर्मित घरहरूको चाबी लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले एक विशेष समारोहबीच उनीहरूलाई हस्तान्तरण गर्नुभयो । यो आवास परियोजनाका लागि लहान नगरपालिकाले रु ८२ लाख ८५ हजार र ह्याबिट्याट फर ह्युमानिटी नेपालले रु २० लाख आर्थिक सहयोग गरेका हुन् भने लाभग्राही घरधनीहरूले रु २५ लाख ७१ हजार बराबरको श्रमदान गरेका छन् ।

    भवानी एकीकृत विकास केन्द्रका कार्यक्रम निर्देशक सुजित चौधरीका अनुसार नवनिर्मित प्रत्येक घरमा दुईवटा कोठा, एक भान्सा कोठा, बरन्डा र व्यवस्थित शौचालयको व्यवस्था गरिएको छ । यी घरहरू पूर्ण रूपमा भूकम्प प्रतिरोधी हुनाका साथै यिनीहरूको न्यूनतम आयु ३० वर्षभन्दा बढी रहेको छ ।

    नयाँ घरको साँचो हस्तान्तरण गर्दै नगरप्रमुख चौधरीले नगरभित्रका कोही पनि विपन्न नागरिक घरविहीन हुन नपरोस् भन्ने उद्देश्यले स्थानीय सरकारले काम गरिरहेको बताउनुभयो । सार्वजनिक ऐलानी जग्गा अतिक्रमण खाली गर्ने नाममा अन्य स्थानीय तहमा विना विकल्प डोजर चलाएर भूमिहीन दलित र अन्य विपन्न समुदायको उठिबास भइरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “हरेक विपन्न र भूमिहीन नागरिकको एउटा सुरक्षित र भरपर्दो घर होस् भन्ने सपना हुन्छ । स्थानीय सरकारको हैसियतले हामीले उहाँहरूको त्यही सपनालाई क्रमशः साकार पार्दै लगेका छौँ । भूमिहीन, दलित र विपन्न पनि नगरकै बासिन्दा हुन्, नागरिकलाई अप्ठ्यारो परेका बेला स्थानीय सरकारले सघाउँछ भन्ने सन्देश दिन हामीले यो आर्थिक सहयोग गरेका हौँ । लहान नगर क्षेत्रका सुकुमवासी, गरिब र विपन्नलाई व्यवस्थित बसोबासका लागि सुरक्षित घर बनाएर दिने यो अभियान आगामी दिनमा पनि निरन्तर जारी रहनेछ ।”

    नयाँ घर पाएसँगै अब यी विपन्न परिवारको आर्थिक भार पनि कम हुने भएको छ । यसअघि हरेक वर्ष वर्षा र हावाहुरीले भत्काउने अस्थायी फुसको घर मर्मत गर्नमै उनीहरूको ठूलो कमाई खर्च हुने गथ्र्यो । घर हस्तान्तरण समारोहमा भवानी एकीकृत विकास केन्द्रका कार्यक्रम निर्देशक चौधरीले घर पाएकाहरूलाई अब घर मर्मतमा खर्च हुने रकम जोगाएर छोराछोरीको शिक्षामा लगाउन आग्रह गरेका छन् ।  उनले भने, “मजदुरी गरेर कमाएको थोरबहुत रकम पनि पहिले घर टाल्नैमा सकिन्थ्यो, अब २५÷३० वर्ष घर मर्मतमा अतिरिक्त रकम खर्च गर्नुनपर्ने भएकाले त्यही रकम छोराछोरीको पढाइमा लगाउँदा उनीहरूको भविष्य राम्रो बन्न सक्छ ।”

    यसअघि लहान नगरपालिकाका–१२, १३, १५ र २१ मा गरी २०० भन्दा बढी सुरक्षित घरहरू निर्माण गरेर लक्षित परिवारलाई हस्तान्तरण गरिसकिएको ह्याबिट्याट फर ह्युमानिटी नेपालका प्राविधिक संयोजक रामसुन्दर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार, बुधबार वडा नं २१ वेतहाका थप १६ घरपरिवारलाई पनि नयाँ घर हस्तान्तरण गरिँदै छ । त्यस्तै, यसै आर्थिक वर्षभित्र नगरको वडा नं १३ मा थप १० घर, वडा नं १५ मा सात घर र वडा नं १८ मा आठ घर निर्माण गरी हस्तान्तरण गर्ने योजना रहेको छ ।

    हिजोसम्म खुला आकाश र च्यातिएको त्रिपालमुनि रात काट्न बाध्य मुसहर बस्तीका रैथानेहरू आज आफ्नै पक्की घरको बरण्डामा बसेर आफ्ना बालबच्चाको उज्यालो भविष्यको सुन्दर सपना कोर्न थालेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend