images

२०८३ आश्विन १६ गते

images
images
images

विश्व दुग्ध दिवस २०२६ को अवसरमा नेपाल डेरी एसोसिएसनद्वारा सप्ताहव्यापी कार्यक्रम सम्पन्न

विश्व दुग्ध दिवस २०२६ को अवसरमा नेपाल डेरी एसोसिएसनद्वारा सप्ताहव्यापी कार्यक्रम सम्पन्न

images
images
सोमवार, जेठ १८ २०८३
सोमवार, जेठ १८ २०८३
  • काठमाडौं, जेठ १८ । २६ औँ अन्तर्राष्ट्रिय विश्व दुग्ध दिवस २०२६ को अवसरमा नेपाल डेरी एसोसिएसनले देशव्यापी रूपमा विविध सचेतनामूलक, सामाजिक तथा प्रवर्द्धनात्मक कार्यक्रमहरू आयोजना गरी सप्ताहव्यापी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

    images
    images

    यस वर्ष विश्व दुग्ध दिवस “दुग्ध क्षेत्रको दिगो विकासः पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार” भन्ने राष्ट्रिय नाराका साथ तथा “महिला कृषकहरूको सम्मान” भन्ने अन्तर्राष्ट्रिय नारालाई आत्मसात गर्दै सातै वटा प्रदेश तथा २८ जिल्लाहरूमा कार्यक्रमहरू सञ्चालन गरेको छ ।

    विश्व दुग्ध दिवसको मूल समारोह राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा ललितपुरस्थित पशु सेवा विभागको हलमा कृषि, वन तथा पर्यावरण मन्त्री माननीय गीता चौधरीज्यूको प्रमुख आतिथ्यता तथा मन्त्रालयका सचिव डा। राजेन्द्र मिश्र, राष्ट्रिय दुग्ध विकास बोर्डका नि। कार्यकारी निर्देशक डा बालक चौधरी तथा बोर्ड सदस्यहरु राजन दाहाल, कृष्ण सापकोटा र रामभक्त दाहाल, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, सिडिक्यानका अध्यक्ष अमर कुँवर एक विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, दुग्ध क्षेत्रका सरोकारवाला संघसंस्था, व्यवसायी तथा किसान प्रतिनिधिहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भयो ।

    images
    images

    कार्यक्रममा उत्कृष्ट डेरी उद्योगीको रुपमा सूर्योदय मिल्क एण्ड इन्डस्ट्रियल प्रा।ली विराटनगरका सञ्चालक मनोज कुमार यादव, डेरी फुड एण्ड बेभेरेज प्रा।ली भक्तपुरका शिवचरण त्यात, उत्कृष्ट सहकारीको रुपमा मकानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ, उत्कृष्ट पशुपालनतर्फ बृहत्तर पशुपालन तथा कृषि सहकारी संस्था लिमिटेड इलाम उत्कृष्ट पत्रकारको तर्फबाट कपिल कोइराला उत्कृष्ट चिज उद्योगको तर्फबाट कुसाङ डेरी इलाम लगायतका सम्मानित भएका थिए।

    नेपाल डेरी एसोसिएसनले विश्व दुग्ध दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जेठ १२ गते पोखरामा पत्रकार सम्मेलन आयोजना गरी दुग्ध क्षेत्रका समसामयिक विषय, समस्या, चुनौती तथा सम्भावनाबारे सार्वजनिक बहस र छलफलको वातावरण सिर्जना गरेको थियो ।

    त्यसैगरी जेठ १३ गते काठमाडौं इङ्गलिस स्कुल, नक्सालमा “महिला कृषकहरूको सम्मान” विषयमा विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न गरिएको थियो । प्रतियोगितामा उपत्यकाका १४ वटा विद्यालयका २६ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामार्फत विद्यार्थीहरूमा दूध तथा दुग्धजन्य पदार्थको महत्व, पोषण सुरक्षा तथा महिला कृषकहरूको योगदानप्रति सम्मान अभिवृद्धि गर्ने प्रयास गरिएको थियो ।

    जेठ १४ गते काभ्रेपलाञ्चोकको नालामा स्थानीय तहसँगको सहकार्यमा “असल दूध अभ्यास कार्यक्रम” आयोजना गरिएको थियो । कार्यक्रममा दूध उत्पादन, संकलन, ढुवानी, भण्डारण तथा उपभोगका क्रममा अपनाउनुपर्ने गुणस्तरीय अभ्यासका विषयमा किसान तथा सरोकारवालाहरूलाई जानकारी प्रदान गरिएको थियो ।

    त्यसैगरी जेठ १५ गते कोशी प्रदेश समितिको आयोजनामा भापा जिल्ला कन्काइ नगरपालिका वार्ड नम्बर ( ५ का २६ वर्षका उमेश खाती जो वैदेशिक रोजगारीका क्रममा हुँदा दुबै हात र दुबै खुट्टामा गम्भीर रोगका कारणले गुमाउनु भएको थियो र हाल उहाँको शारीरिक अवस्था कमजोर रहेकोले उहाँको उपचारत सहयोगार्थ लागि नेपाल डेरी एसोसिएसन कोशी प्रदेश अन्तर्गतका पदाधिकारी एवं सदस्यज्यूहरुबाट स्वेच्छिक रुपले संकलन रकम रु।६५६००।(अक्षरेपि पैँसट्ठी हजार छ सय रुपैयाँ आज एक कार्यक्रमको बिच हस्तान्तरण गरिएकोआर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रमले घाईते उमेश खातीको मनोबल अभिवृद्धि गर्नुका साथै दुग्ध उत्पादनमा निरन्तरता दिन थप प्रेरणा प्रदान गरेको आयोजकले जनाएको छ ।

    जेठ १८ गते सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा मोही सेवन तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा नेपाली मौलिक दुग्धजन्य उत्पादन मोहीको पोषण, स्वास्थ्य तथा सांस्कृतिक महत्वबारे जानकारी गराउनुका साथै सर्वसाधारणलाई मोही सेवन गराई दुग्धजन्य पदार्थको उपयोगिता सम्बन्धी जनचेतना अभिवृद्धि गरिएको थियो ।

    यसैगरी जेठ १८ गते नै लुम्बिनी प्रदेशको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामी तथा कुरुवाहरूलाई दूध वितरण तथा दुग्धपान कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा अस्पतालमा रहेका बिरामी तथा कुरुवाहरूलाई दूध तथा दुग्धजन्य पदार्थ सेवन गराउनुका साथै पोषण र स्वास्थ्यका दृष्टिकोणले दूधको महत्वबारे जानकारी प्रदान गरिएको थियो ।

    मधेस प्रदेशमा स्कुल र हस्पिटलमा दूध तथा दुग्ध पदार्थ वितरण गरि विश्व दूध दिवसको बारे जानकारी गराइएको थियो।

    विश्व दुग्ध दिवसको अवसरमा आयोजित मूल समारोहमा नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष मनोज कुमार यादवलाई दुग्ध क्षेत्रको विकास, निजी क्षेत्रको प्रवर्द्धन तथा नेपाली दुग्धजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारमा पुर्‍याउनुभएको उल्लेखनीय योगदानको कदरस्वरूप “उत्कृष्ट निर्यातकर्ता” सम्मानबाट सम्मानित गरिएको थियो । उक्त सम्मानलाई नेपालको दुग्ध उद्योग तथा निजी क्षेत्रको उपलब्धिका रूपमा हेरिएको छ ।

    नेपाल डेरी एसोसिएसनका अनुसार विश्व दुग्ध दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी किसान, विद्यार्थी, उपभोक्ता, स्वास्थ्य संस्था तथा सञ्चार क्षेत्रसम्म जोड्ने उद्देश्यका साथ देशव्यापी कार्यक्रमहरू सञ्चालन गरिएको हो । दूध तथा दुग्धजन्य पदार्थको नियमित उपभोग प्रवर्द्धन, किसानको सम्मान, पोषण सुरक्षाको सुनिश्चितता तथा दुग्ध क्षेत्रको दिगो विकासका लागि यस्ता कार्यक्रमहरूले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास एसोसिएसनले व्यक्त गरेको छ ।

    एसोसिएसनले सप्ताहव्यापी कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने राष्ट्रिय दुग्ध विकास बोर्ड, प्रदेश दुग्ध विकास बोर्डहरू, स्थानीय तह, शैक्षिक संस्था, सञ्चारमाध्यम, सहकारी संस्था, निजी क्षेत्र तथा सम्पूर्ण सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि नेपाली दुग्ध क्षेत्रको संरक्षण, प्रवर्द्धन तथा व्यवसायीकरणका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend