images

२०८३ आश्विन १७ गते

images
images
images
  • कृषि
  • व्यावसायिक मकै खेतीबाट आम्दानी गर्दै हातेमालो...

व्यावसायिक मकै खेतीबाट आम्दानी गर्दै हातेमालो सहकारी

व्यावसायिक मकै खेतीबाट आम्दानी गर्दै हातेमालो सहकारी

images
images
आइतवार, जेठ १७ २०८३
आइतवार, जेठ १७ २०८३
  • साँफेबगर । अछामको साँफेबगरस्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले व्यावसायिक कृषि उत्पादनमार्फत राम्रो आम्दानी गर्दै आएको छ। वडा नं. ४ मा रहेको उक्त सहकारीले जिल्लामै नमुना सहकारीका रूपमा आफ्नो पहिचान स्थापित गरेको छ। कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्दै आएको सहकारीले यस वर्ष २० रोपनी क्षेत्रफलमा व्यावसायिक मकै खेती गरी उत्साहजनक नतिजा हासिल गरेको हो।सहकारीले उत्पादन गरेको ताजा हरियो मकैको स्थानीय बजारमा अत्यधिक माग रहेको छ। मकै उत्पादन सुरु भएसँगै ग्राहकहरू प्रत्यक्ष रूपमा खेतमै पुगेर खरिद गर्ने गरेका छन्। सहकारीका अनुसार हालसम्म करिब ४१ हजार रुपियाँ बराबरको मकै बिक्री भइसकेको छ भने बिक्री प्रक्रिया अझै जारी छ।

    images
    images

    सहकारीका अध्यक्ष सुरत भुलले कृषि उत्पादन वृद्धि गर्नुका साथै स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्ने उद्देश्यले व्यावसायिक मकै खेती सुरु गरिएको बताउनुभयो। उहाँले सहकारीले आधुनिक कृषि प्रविधिको प्रयोग गर्दै किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।“कृषिलाई आयआर्जनको मुख्य आधार बनाउने लक्ष्यसहित सहकारीले विभिन्न उत्पादनमूलक गतिविधि अघि बढाएको छ,” अध्यक्ष भुलले भन्नुभयो, “मकै खेतीबाट प्राप्त उत्साहजनक नतिजाले आगामी दिनमा अझ ठुलो क्षेत्रफलमा खेती विस्तार गर्न प्रेरणा दिएको छ।”सहकारीकी प्रबन्ध निर्देशक महेश्वरी बुढाथापाले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै ताजा तथा गुणस्तरीय मकै उपभोक्तासम्म सुलभ मूल्यमा पुर्‍याइएको बताउनुभयो। उहाँले स्थानीय उत्पादनको उपयोगले किसान र उपभोक्ता दुवैलाई फाइदा पुग्ने भएकाले स्वदेशी उत्पादनप्रति विश्वास बढाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

    मकै खेतीसँगै सहकारीले तरकारी खेती तथा भैंसीपालन व्यवसायसमेत सञ्चालन गर्दै आएको छ। बहुआयामिक कृषि तथा पशुपालन गतिविधिका कारण सहकारीले उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको छ।स्थानीय उत्पादनप्रति उपभोक्ताको बढ्दो आकर्षण र सहकारीको सक्रियताले आसपासका किसानलाई समेत व्यावसायिक कृषितर्फ प्रेरित गरेको छ। कृषि क्षेत्रमा नवीन अभ्यास र उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको सहकारी अहिले अछाम जिल्लामै नमुना सहकारीका रूपमा परिचित बन्दै गएको छ।सहकारीले आगामी वर्षहरूमा खेतीयोग्य क्षेत्र विस्तार गरी उत्पादन वृद्धि गर्ने तथा स्थानीय बजारसँगै बाह्य बजारसम्म कृषि उपज पुर्‍याउने योजना बनाएको जनाएको छ। कृषि, पशुपालन र सहकारी अभियानलाई एकीकृत रूपमा अगाडि बढाउँदै आएको संस्थाले ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend