नेपालको पहिलो खाद्य शब्दकोश ‘फालाङ खाद्य शब्दकोश’का लेखक शिव न्यौपाने हालै अष्ट्रेलियाको भिक्टोरिया राज्यस्थित अष्ट्रेलियन ट्राउट माछा फार्म अवलोकनमा पुगेका छन् । परिवारसहित करिब ७५ किलोमिटरको यात्रापछि पुगेको उक्त फार्मसम्मको यात्रा प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको उनले बताएका छन् । सडकका दुबै किनारमा फैलिएको हरियाली र स्वच्छ वातावरणले यात्रालाई अझ आकर्षक बनाएको उनको अनुभव छ ।
अष्ट्रेलियामा जलचर उद्योगलाई दिगोपन, पर्यटन, स्थानीय खाद्य संस्कृति र निर्यात प्रवर्द्धनसँग जोडेर विकास गरिएको छ । त्यहाँका माछा उत्पादन कम्पनीहरूले आफ्ना उत्पादनलाई सुरक्षित, स्वच्छ र वातावरणमैत्री रूपमा उत्पादन गरिएको भन्दै बजारमा प्रस्तुत गर्ने गरेका छन् । विशेषगरी ट्राउट, साल्मन, बारामुन्डी, टुना, ओइस्टर र झींगाजस्ता उत्पादनलाई प्रिमियम समुद्री खानाका रूपमा प्रवर्द्धन गरिन्छ ।
अष्ट्रेलियाली जलचर उद्योगले “स्थानीय र ताजा” भन्ने अवधारणालाई जोड दिएको छ । स्थानीय किसानलाई सहयोग गर्ने, आयातित समुद्री खानाको निर्भरता घटाउने तथा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने अभियान प्रभावकारी रूपमा सञ्चालन गरिएका छन् । प्याकेजिङ र प्रचार सामग्रीमा समुद्री तट, स्थानीय संस्कृति तथा “अष्ट्रेलियन पानीबाट ताजा” जस्ता सन्देश समावेश गरिन्छ ।
त्यहाँ जलचर उद्योग पर्यटनसँग पनि जोडिएको छ । तस्मानियाको साल्मन र ओइस्टर फार्म, दक्षिण अष्ट्रेलियाको टुना र सिपी उत्पादन तथा क्वीन्सल्याण्डको बारामुन्डी र झींगा फार्महरू पर्यटकका आकर्षक गन्तव्य बनेका छन् । फार्म भ्रमण, समुद्री खाना स्वाद कार्यक्रम, मनोरञ्जनात्मक माछा मार्ने गतिविधि तथा पारिस्थितिक पर्यटनले उद्योगलाई थप प्रवर्द्धन गरेको छ ।
रेस्टुरेन्ट, शेफ र खाद्य महोत्सवमार्फत पनि अष्ट्रेलियाली समुद्री खानाको प्रचार हुने गरेको छ । सेलिब्रेटी शेफ तथा खाद्य मिडियाले खेती गरिएको समुद्री खानालाई उच्च गुणस्तरको उत्पादनका रूपमा प्रस्तुत गर्दै आएका छन् । साथै, सरकारी व्यापार कार्यक्रम र अन्तर्राष्ट्रिय प्रदर्शनीमार्फत अष्ट्रेलियाली समुद्री खानालाई विश्व बजारमा प्रवर्द्धन गरिएको छ ।
डिजिटल प्रवर्द्धन, सामाजिक सञ्जाल अभियान, वातावरणीय प्रमाणिकरण तथा नवीकरणीय ऊर्जाको प्रयोगलाई समेत जलचर उद्योगको प्रचारमा समेटिएको छ । यद्यपि, पानी प्रदूषण, माछाको कल्याण र समुद्री पारिस्थितिक प्रणालीमाथि असरबारे आलोचना हुने भएकाले उद्योगले अहिले दिगोपन र जिम्मेवार उत्पादनलाई बढी जोड दिन थालेको छ ।
शिव न्यौपानेका अनुसार नेपालले अष्ट्रेलियाको जलचर उद्योगबाट धेरै पाठ सिक्न सक्छ । प्रशस्त नदी र जलस्रोत हुँदाहुँदै पनि नेपालले अझै ठूलो स्तरमा माछापालन उद्योग विस्तार गर्न सकेको छैन । यदि आधुनिक माछा फार्म, पर्यटन र निर्यात प्रवर्द्धनलाई एकीकृत रूपमा अघि बढाउन सकिए नेपालले चीन र भारतजस्ता विशाल बजारमा माछा निर्यात गरी उल्लेखनीय आम्दानी गर्न सक्ने उनको भनाइ छ ।




.gif)





