images

२०८३ आश्विन १७ गते

images
images
images

अन्नसँग तरकारी साट्ने परम्परा अझै कायम

अन्नसँग तरकारी साट्ने परम्परा अझै कायम

images
images
शुक्रवार, जेठ १५ २०८३
शुक्रवार, जेठ १५ २०८३
  • कञ्चनपुर, १५ जेठ । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीकी मीना चौधरी बिहानै टाउकोमा तरकारीको टोकरी बोकेर गाउँगाउँ पुग्छन । तर उनले नगदमा तरकारी बेच्दैनन । खेतबारीमा फलेका बोडी, काँक्रा, भिण्डी, लौका, फर्सी र तितेकरेलाजस्ता तरकारी उहाँले गाउँघरका किसानसँग गहुँ लगायत अन्न साटेर दिन्छन ।

    images
    images

    “आजभोलि गहुँको याम भएकाले गहुँसँग तरकारी साट्छौँ, धानको सिजनमा धानसँग पनि साट्छौँ”, उनले भने, “दुई तौल गहुँबराबर एक तौल तरकारी दिन्छौँ, नगदभन्दा अन्नसँग साट्दा बढी फाइदा हुन्छ ।”

    साँझ खेतबारीबाट तरकारी टिपेर सफा गरी टोकरीमा राख्ने र बिहानै गाउँगाउँ पुगेर अन्नसँग साट्ने काम दैनिकजसो हुने गरेको उनी बताउछन । अहिले गाउँघरमा ताजा तरकारीको माग बढेकाले महिलाहरूले २० देखि ३५ किलोसम्म तरकारी टोकरीमा बोकेर बिक्रीका लागि लैजाने गर्छन । तरकारीसँग अन्न साटेपछि फर्किँदा भारी दोब्बर हुने भएकाले घरपरिवारका सदस्यलाई फोन गरेर अन्न बोक्न बोलाउनुपर्ने अवस्था आउने गरेको उनले सुनाए।

    images
    images

    कञ्चनपुरका ग्रामीण क्षेत्रमा तरकारीसँग अन्न साट्ने चलन नयाँ होइन । लालझाडी गाउँपालिका–४ का मङ्गलबहादुर चौधरीका अनुसार यो परम्परा धेरै पुरानो हो । “पहिले नगदको पहुँच कम हुँदा गाउँघरमा वस्तु साटासाटको चलन थियो”, उनले भने, “अहिले बजार र प्रविधिको पहुँच बढे पनि गाउँमा त्यो चलन अझै बाँकी छ ।”

    विशेषगरी ग्रामीण क्षेत्रमा अधिकांश परिवार कृषिमा निर्भर भएकाले सिजनअनुसार अन्नको उपलब्धता हुने गर्छ । त्यही कारण किसानहरू नगदभन्दा अन्न दिएर तरकारी लिन सहज मान्छन् । अन्नसँग तरकारी साट्दा किसानलाई दोहोरो फाइदा हुने गरेको छ । एकातिर तरकारीखेती गर्ने परिवारले वर्षभरिको अन्न जुटाउन सक्छन् भने अर्कातर्फ बजारमा बिक्री गर्दा नगद आम्दानी पनि हुन्छ । अहिले बजारमा तरकारी प्रतिकिलो रु २० देखि रु ५० सम्ममा बिक्री भइरहेको छ भने गहुँको मूल्य प्रतिकिलो रु ४० देखि रु ४२ सम्म रहेको छ ।

    थोरै जमिन भएका किसानका लागि तरकारीखेती आम्दानीको महत्त्वपूर्ण स्रोत बन्दै गएको पिपलाडीका गङ्गा चौधरी बताउनुहुन्छ । “उत्पादन भएको तरकारी अन्नसँग साटेर घरखर्च चलाउने र बाँकी बजारमा बिक्री गरेर नगद आम्दानी हुन्छ”, उनले भने, “सासूहरूले पनि यसैगरी पहिला तरकारी बेच्थे, अहिले पनि ग्रामीण क्षेत्रमा अझै यो प्रचलन जीवित रहेको छ ।”

    तरकारी उत्पादनमा पुरुषको सहभागिता रहने भए पनि तरकारी स्याहार्ने, रोगकीरा नियन्त्रण गर्ने, टिप्ने र गाउँगाउँ पुगेर बिक्री गर्ने काममा महिलाको भूमिका बढी देखिन्छ । यसले ग्रामीण महिलाको आर्थिक सक्रियता र पारिवारिक जिम्मेवारी दुवैलाई उजागर गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend