एजेन्सी । परामर्शदाता कम्पनी जेएलएलले सार्वजनिक गरेको तथ्यांक र अनुमानका अनुसार, भूराजनीतिक अनिश्चितता र यात्रा अवरोधका बावजुद भारतमा यस वर्ष झण्डै १ अर्ब डलरको रेकर्ड होटल कारोबार हुन सक्छ ।जेएलएलका अनुसार, सन् २०२५ मा भारतमा ५६ करोड ७० लाख डलर बराबरको होटल कारोबार भएको थियो जुन अघिल्लो वर्षको तुलनामा ६७ प्रतिशतले बढी हो ।जेएलएलको तथ्यांक अनुसार, सन् २०२६ को पहिलो त्रैमासिकमा देशमा होटल कारोबार ३४ करोड ५० लाख डलर पुगेको छ जुन एक वर्षअघि ९ करोड ८० लाख डलर मात्र थियो । यससँगै भारत पहिलोपटक एसिया प्रशान्त क्षेत्रका शीर्ष पाँच बजारहरूमा पर्न सफल भएको छ ।
‘ऐतिहासिक रूपमा सबैभन्दा सक्रिय लगानी बजारहरू जापान, चीन, कोरिया, अस्ट्रेलिया र सिंगापुर रहेका छन् र सामूहिक रूपमा यी बजारहरूले यस क्षेत्रको कुल कारोबारको ७०–८० प्रतिशत हिस्सा ओगट्छन्,’ जेएलएलका एसिया प्यासिफिक होटल एन्ड हस्पिटालिटी ग्रुपका सीईओ निहात एर्कानले भने, ‘तर रोचक कुरा के छ भने सन् २०२६ को पहिलो त्रैमासिकमा भारत पहिलोपटक शीर्ष पाँच बजारमा परेको छ । यसअघि हामीले सन् २०२६ मा भारतको कारोबार आधा अर्ब डलर जति हुने प्रक्षेपण गरेका थियौं तर पहिलो त्रैमासिकको यो गति कायम रह्यो भने हामी भारतमा सन् २०२६ मा झण्डै १ अर्ब डलर बराबरको गतिविधि देख्न सक्छौं,’ उनले भने ।जेएलएलका अनुसार, सन् २०२६ को पहिलो त्रैमासिकमा जापानमा करिब १ अर्ब डलरको बिक्री भयो भने चीनमा ७२ करोड ४० लाख डलर र दक्षिण कोरियामा ४७ करोड १० लाख डलरको कारोबार भयो ।भारत ३४ करोड ५० लाख डलरका साथ चौथो स्थानमा आयो र अस्ट्रेलिया २३ करोड ५० लाख डलरका साथ पाँचौं स्थानमा रह्यो ।
एसिया प्रशान्त क्षेत्रको पहिलो त्रैमासिक कारोबारमा भारतको हिस्सा १३ प्रतिशत रह्यो ।“सन् २०२५ मा यस क्षेत्रको कुल कारोबार १०.८ अर्ब डलर थियो । यो सन् २०२४ को १३.३ अर्ब डलरको तुलनामा २० प्रतिशतले कम हो,’ एर्कानले भने, ‘हामीले सन् २०२५ को अन्तिम त्रैमासिकमा कारोबार गतिविधिमा बलियो गति देख्यौं र त्यो सन् २०२६ मा पनि जारी छ । हामी सन् २०२६ मा १३ अर्ब डलरभन्दा बढीको कारोबार हुने अपेक्षा गरिरहेका छौं ।’जेएलएलका इन्डिया होटलका प्रबन्ध निर्देशक र एसिया होटल क्यापिटल मार्केटका सिनियर डाइरेक्टर गौरव शर्माले निजी इक्विटी फर्महरू र फ्यामिली अफिसहरू बाहेक थुप्रै सूचीकृत संस्थाहरू भारतमा सक्रिय भएको बताए ।‘ती सबै लगानीका अवसरहरू खोजिरहेका छन् । त्यसैले भारतमा बजार अझ बलियो हुनेछ,’ उनले भने, ‘विश्वव्यापी समस्याहरू आइरहन्छन् तर ठूलो लगानीकर्ता समुदाय यसमा अभ्यस्त हुँदैछ । भारतमा नयाँ गन्तव्यहरूको खोजी भइरहेको छ र थप होटलहरूका लागि सम्झौता भइरहेको छ । मानिसहरूले निर्माण कार्य जारी राखेका छन् र सम्झौता गतिविधि बढ्नु भनेको लगानीकर्ताहरू यस क्षेत्रमा विश्वास गर्छन् भन्ने अर्को संकेत हो ।’
एर्कानले भारत र अन्य एसिया प्रशान्त बजारहरूमा आन्तरिक माग उत्साहजनक रहेको र त्यसले यात्राको माग र पर्यटनलाई टिकाउन मद्दत गरिरहेको बताए । ‘लगानीकर्ताहरूले भारतलाई एउटा वृद्धि भइरहेको बजारको रूपमा हेरिरहेका छन् । यस क्षेत्रमा हस्पिटालिटी सम्पत्तिप्रतिको धारणा निकै बलियो छ । त्यसैले कारोबारको मात्रा बढाइरहेको छ,’ उनले भने, ‘निरन्तर वा लामो समयसम्म चल्ने द्वन्द्व कसैका लागि पनि राम्रो होइन । तर, हामीले कुरा गरिरहेका लगानीकर्ताहरूले भारतमा मात्र नभई सम्पूर्ण एसिया प्रशान्त बजारमा दीर्घकालीन सम्भावना र अवसर देखिरहेका छन् ।’




.gif)





