बैंकक । थाइल्यान्डले इबोला भाइरसको जोखिमका कारण कङ्गो प्रजातान्त्रिक गणराज्य र युगान्डाबाट आउने यात्रुहरूका लागि २१ दिन क्वारेन्टिन अनिवार्य गरेको छ । सरकारले यी दुई देशबाट आउने वा ती देशहरूलाई ट्रान्जिट बनाएका यात्रुहरूका लागि २१ दिनको अनिवार्य क्वारेन्टिन लागू गरेको हो ।यो निर्णय ती देशहरूमा फैलिरहेको घातक इबोला भाइरसको प्रकोपका कारण गरिएको हो । थाइल्यान्डको स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमणका लक्षण देखिएका यात्रुहरूलाई राज्यद्वारा तोकिएको अस्पतालमा राखिनेछ भने लक्षण नभएकाहरूलाई छुट्टै क्वारेन्टिन केन्द्रमा राखिनेछ ।
यो निर्णय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले उक्त क्षेत्रमा फैलिएको इबोला प्रकोपबारे अन्तर्राष्ट्रिय स्वास्थ्य चेतावनी जारी गरेपछि आएको हो । कङ्गोले मे १५ इबोलाको प्रकोपको घोषणा गरेको थियो । त्यसयता अहिलेसम्म त्यहाँ इबोला भाइरसको सङ्क्रमणका कारण २०४ जनाको मृत्यु भइसकेको ६ भने ८६७ शङ्कास्पद सङ्क्रमित बिरामी फेला परिसकेका छन् । यसको छिमेकी देश युगान्डामा पनि इबोला भाइरसको सङ्क्रमणको कारण एक जनाको मृत्यु भएको छ भने अरू ६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।इबोला भाइरस लामो समयसम्म पहिचान नभई फैलिन सक्ने भएकोले सङ्क्रमणको वास्तविक दायरा रिपोर्ट गरिएकोभन्दा धेरै ठुलो हुनसक्ने अनुमान डब्ल्यूएचओले गरेको छ ।अन्तर्राष्ट्रिय यात्राका कारण भाइरस देशमा भित्रिन सक्ने जोखिमलाई मध्यनजर गर्दै यो कडा कदम चालिएको थाइल्यान्डका वरिष्ठ सार्वजनिक स्वास्थ्य अधिकारी सोम्लेर्क जेउङ्समार्नले भनेका छन् ।




.gif)



