चन्द्रपुर (रौतहट), १३ जे । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले मङ्गलबार उद्घाटन गरेका छन् ।
केन्द्रले किसानलाई मौसमसम्बन्धी विभिन्न पूर्वानुमान उपलब्ध गराउनेछ । तापक्रम, वर्षा, हावाको गति मौसमसम्बन्धी तथ्याङ्क केन्द्रमा सङ्कलन हुनेछ । मौसमको अवस्था हेरेर बाली कहिले लगाउने, सिँचाइ कहिले गर्ने र मल तथा औषधि कहिले प्रयोग गर्ने लगायतका विषयमा केन्द्रले जानकारी दिनेछ ।
जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या राय यादवले किसानको बाहुल्य भएको रौतहटमा हरेक पालिकाका किसानका लागि यसप्रकारको केन्द्र आवश्यक भएको बताएका छन् ।
जल तथा मौसम विभाग मधेश प्रदेशका प्रमुख राजीवकुमार झाले केन्द्र हरेक पाँच किलोमिटरको दूरीमा राख्नुपर्ने बताएका छन् । वन क्षेत्रको संरक्षण, पूर्वाधार विकासमा समेत केन्द्रमा महत्वपूर्ण भूमिका हुने कार्यालय प्रमुख झाले बताएका छन् ।
अहिलेको अवस्थामा कृषि तथा जलवायु मौसम मापन केन्द्रबाट ८० प्रतिशत प्रक्षेपण मिलेको उहाँको भनाइ छ । केन्द्रले असिना, खडेरी, अत्यधिक वर्षा वा बाढी जस्ता प्राकृतिक प्रकोप सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने उनले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजालले मानवीय क्षति न्यूनीकरण गर्न केन्द्रले सहयोग गर्ने धारणा राखेका छन् ।




.gif)





