काठमाडौँ । नेपाल र चीनबिचको परियोजना सम्बन्धी सहजीकरण संयन्त्रको तेस्रो बैठक आगामी जुन २०२६ मा नेपालमा बस्ने भएको छ । सन् २०१८ जुन २१ मा दुई देशबीच सम्पन्न ‘नेपाल–चीन सहकार्य कार्यक्रम तथा परियोजनाहरूको कार्यान्वयन सहजीकरण संयन्त्र स्थापना सम्बन्धी समझदारीपत्र’ अनुसार यो बैठक बस्न लागेको हो ।परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकेन्द्रबहादुर क्षेत्रीले दिएको जानकारी अनुसार उक्त बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले गर्नेछन् भने चिनियाँ पक्षबाट नेपालका लागि चिनियाँ राजदूतले सह–अध्यक्षता गर्नेछन् । बैठकमा चीन सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास परियोजनाहरूको प्रगतिको समीक्षा गरिनुका साथै तिनको प्रभावकारी कार्यान्वयनका विषयमा ठोस छलफल हुने बताइएको छ ।
यसैबिच, दक्षिण–पूर्वी एसियाका विभिन्न मुलुकमा गैरकानुनी रूपमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरहरूमा बन्धक बनाइएका नेपालीहरूको उद्धार कार्यलाई सरकारले तीव्रता दिएको छ । थाइल्याण्ड र म्यानमारस्थित नेपाली नियोगहरू तथा स्थानीय सरकारी निकायहरूको बलियो समन्वयमा पछिल्लो दुई हप्तामा थप ७१ जना नेपालीको उद्धार गरी सुरक्षित रूपमा नेपाल फर्काइएको छ । यसअघि ६१६ जनाको उद्धार भइसकेको मन्त्रालयले जनाएको छ । हालसम्म उद्धार गरिएका कुल संख्यामध्ये कम्बोडियाबाट ५६२ जना, म्यानमारबाट १११ जना, लाओसबाट ८ जना र थाइल्याण्डबाट ६ जना रहेका छन् ।मन्त्रालयले सरकारको शासकीय सुधार सम्बन्धी कार्यसूचीबारे पनि जानकारी गराएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत १०० बुँदे कार्यसूचीमध्ये परराष्ट्र मन्त्रालयको जिम्मामा २४ वटा बुँदा रहेका थिए । जसमध्ये हालसम्म ११ वटा बुँदा पूर्ण रूपमा सम्पन्न भइसकेका छन् भने बाँकी १३ वटा बुँदाहरू चालू अवस्थामा रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।




.gif)



