images

२०८३ आश्विन १६ गते

images
images
images

मलमासमा जाग्ने गेरुका धामको महिमा

मलमासमा जाग्ने गेरुका धामको महिमा

images
images
बिहिवार, जेठ ७ २०८३
बिहिवार, जेठ ७ २०८३
  • धनुषा । मधेस प्रदेशको धार्मिक तथा सांस्कृतिक जीवनमा विशेष महत्व राख्ने गेरुका धाम अहिले फेरि श्रद्धा, भक्ति र आस्थाले भरिन थालेको छ। प्रत्येक तीन वर्षमा एकपटक पर्ने मलमास अर्थात पुरुषोत्तम माससँगै लाग्ने एकमहिने गेरुका स्नान मेला आइतबारदेखि सुरु भएसँगै महोत्तरीको लोहारपट्टी नगरपालिका–४ स्थित खुट्टा पिपरारी क्षेत्र भक्तजनको आगमनले गुञ्जायमान बनेको छ।धनुषा र महोत्तरी जिल्लाको सीमामा अवस्थित यस ऐतिहासिक तथा धार्मिकस्थलमा बिहानैदेखि हजारौँ श्रद्धालु भक्तजन पवित्र स्नान, पूजा–आराधना र दर्शनका लागि पुग्न थालेका छन् । रामायणकालीन इतिहास बोकेको मानिने गेरुका धाम मिथिला क्षेत्रको प्राचीन धार्मिक परम्परासँग गाँसिएको स्थल हो।

    images
    images

    धार्मिक ग्रन्थ तथा स्थानीय जनविश्वासअनुसार माता सीताले समेत यहाँ स्नान गर्ने गरेको उल्लेख पाइन्छ । यही कारण गेरुका नदीलाई मिथिलावासीले अत्यन्त पवित्र नदीका रूपमा मान्दै आएका छन्। विशेषगरी पुरुषोत्तम मासमा यस नदीमा स्नान गरे जानी–नजानी गरिएका पापबाट मुक्ति मिल्ने, मनोकामना पूरा हुने तथा अक्षय पुण्य प्राप्त हुने विश्वास रहिआएको छ।मेलाको शुभारम्भका अवसरमा आइतबार बिहान जनकपुरधामस्थित जानकी मन्दिरको अगुवाइमा भगवान् राम र माता सीताको स्वरुपलाई गेरुका नदीमा लगेर विशेष पूजा गरिएको थियो । वैदिक मन्त्र, शङ्खध्वनि र भजनकीर्तनबीच गरिएको धार्मिक अनुष्ठानले सम्पूर्ण क्षेत्र भक्तिमय बनेको थियो। श्रद्धालु भक्तजनले नदीमा स्नान गरी भगवान् पुरुषोत्तमको पूजा–आराधना गरेका थिए।

    स्थानीयवासी तपेश्वर यादवका अनुसार गेरुका धाममा मेला लाग्ने परम्परा सयौँ वर्ष पुरानो हो। कन्तावाँ नदी र उत्तरवाहिनी नदीको संगमस्थलमा रहेको यस धाममा प्राचीनकालदेखि नै गेरुका महाकुम्भ मेला लाग्दै आएको जनविश्वास छ। मिथिला क्षेत्रका विभिन्न धार्मिक ग्रन्थ, लोककथा र जनश्रुतिमा समेत गेरुका धामको चर्चा पाइन्छ।मधेश प्रदेशका आठवटै जिल्लासहित छिमेकी भारतीय राज्य बिहारबाट समेत प्रत्येक दिन हजारौँ भक्तजन यहाँ पुग्ने गरेका छन्। मेला अवधिभर लाखौँ भक्तजनले स्नान गर्ने अनुमान गरिएको छ। विशेषगरी आइतबार र मङ्गलबारलाई शुभ दिन मानिने भएकाले ती दिन अत्यधिक भिड लाग्ने गरेको स्थानीयवासी राघनी यादवले बताए।स्थानीय पिपरारी निवासी ७० वर्षीय भिखारी मण्डलका अनुसार गेरुका स्नानप्रतिको जनआस्था अत्यन्त गहिरो छ । “यस स्थानको महत्व यति धेरै छ कि कुनै ठुलो प्रचार–प्रसार नगर्दासमेत लाखौँ श्रद्धालु यहाँ आउने गर्छ,” उनले भने, “मानिसहरू पुस्तौँदेखि परम्परागत रूपमा यहाँ आइरहेको छ । गेरुका स्नान गरे पुण्य प्राप्त हुन्छ भन्ने विश्वासले मानिसलाई तानेर ल्याउँछ ।”

    images
    images

    अर्का एक वृद्धले भने, “सरकारले व्यवस्थित ढङ्गले प्रचार–प्रसार, संरक्षण र पूर्वाधार विकास गर्न सके गेरुका धामलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिन्छ । “भारतको कुम्भमेलाजस्तै ठुलो धार्मिक गन्तव्य बन्ने सम्भावना रहेकाले राज्यले दीर्घकालीन योजना बनाएर काम गर्नुपर्छ ।”वास्तवमा गेरुका धाम धार्मिक आस्थाको केन्द्र मात्र नभई मिथिला सभ्यता र सांस्कृतिक पहिचानको जीवित प्रतीक पनि हो । मिथिलाञ्चलको सांस्कृतिक जीवन नदी, पोखरी, मठ–मन्दिर र धार्मिक मेलासँग गहिरोसँग जोडिएको छ ।गेरुका मेला पनि त्यही सांस्कृतिक निरन्तरताको महत्वपूर्ण हिस्सा हो । मेलाका बेला यहाँ केवल स्नान र पूजा मात्र हुँदैन, मिथिला संस्कृति, लोकपरम्परा र सामुदायिक जीवन पनि जीवन्त बन्छ। गाउँघरबाट परिवारसहित आएका श्रद्धालु नदी किनारमा भजन–कीर्तन गर्ने, साधुसन्तहरूको प्रवचन सुन्ने तथा सामूहिक पूजा गर्ने द‌ृश्यले सम्पूर्ण क्षेत्रलाई धार्मिक उत्सवमा परिणत गरिदिन्छ।

     मेलाले स्थानीय अर्थतन्त्रलाई समेत ठूलो टेवा पुर्‍याउने गरेको वडाध्यक्ष श्यामप्रसाद यादवले बताए। मेला अवधिभर अस्थायी बजार सञ्चालन हुने, पूजासामग्री, कपडा, भाँडाकुँडा, मिठाइ तथा स्थानीय परिकारको व्यापार बढ्ने गरेको व्यापारीहरू बताउँछन् । स्थानीय होटल, यातायात व्यवसायी र साना व्यापारीलाई पनि मेलाले राम्रो आम्दानी दिने गरेको छ।महोत्तरी र धनुषा जिल्लाका ग्रामीण क्षेत्रका धेरै परिवारका लागि गेरुका मेला अतिरिक्त आम्दानीको अवसरसमेत बन्ने गरेको छ । स्थानीय महिलाहरूले घरमै बनाएका सामग्री बिक्री गर्ने गरेका छन् भने युवाहरू अस्थायी व्यवसाय सञ्चालन गरेर आम्दानी गर्ने गरेका छन्।यति ठुलो धार्मिक महत्व बोकेको गेरुका धाम अझै पनि आवश्यक पूर्वाधार विकासबाट वञ्चित रहेको स्थानीयवासीको गुनासो छ । मेलाका बेला लाखौँ श्रद्धालु आउने गरे पनि व्यवस्थित सडक, पार्किङ, खानेपानी, शौचालय, विश्रामस्थल तथा स्वास्थ्य सेवा पर्याप्त छैन। श्रद्धालु भक्तजनको सुरक्षाका लागि स्थानीय प्रशासनले अस्थायी प्रहरी सहायता कक्ष, स्वास्थ्य शिविर तथा स्वयंसेवक परिचालन गरेको जनाएको छ।लोहरपट्टी नगरपालिकाका प्रमुख शैलेन्द्रकुमार यादवका अनुसार गेरुका धामको दीर्घकालीन विकासका लागि योजना तयार पार्ने विषयमा छलफल भइरहेको छ। धार्मिक पर्यटन प्रवर्द्धनमार्फत मधेश प्रदेशको आर्थिक तथा सांस्कृतिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले गेरुका क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताए। 

    धार्मिक पर्यटनका दृष्टिले हेर्ने हो भने गेरुका धाम अत्यन्त सम्भावनायुक्त क्षेत्र मानिन्छ । जनकपुरधामस्थित जानकी मन्दिर, धनुषाधाम, जलेश्वरनाथ महादेव, कङ्कालिनी मन्दिरलगायत मधेसका प्रमुख धार्मिक स्थलसँग यसलाई जोडेर धार्मिक पर्यटन परिपथ निर्माण गर्न सकिने नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. सोहन साहको सुझाव छ ।मिथिला संस्कृतिका अध्येताहरूका अनुसार गेरुका धाम केवल धार्मिक स्थल मात्र होइन, मिथिलाको ऐतिहासिक स्मृति र सांस्कृतिक निरन्तरताको प्रतीक हो । यहाँ लाग्ने मेला सामूहिक आस्था, सामाजिक एकता र सांस्कृतिक पहिचानको अभिव्यक्ति पनि हो।धर्म, संस्कृति र परम्पराले समाजलाई जोड्ने काम गर्छ । गेरुका मेला पनि त्यही सामाजिक एकताको सशक्त माध्यम बनेको छ । विभिन्न जिल्ला तथा समुदायका मानिसहरू एउटै आस्था बोकेर यहाँ भेला हुने गरेका विज्ञहरूको तर्क छ । यसले सामाजिक सद्‌भाव र सांस्कृतिक सहअस्तित्वलाई बलियो बनाउने काम गरेको स्थानीय बुद्धिजीवीहरू बताउँछ ।

    मिथिलामा पुरुषोत्तम मासलाई विशेष धार्मिक महत्वका साथ मनाउने परम्परा छ । हिन्दू धर्मग्रन्थअनुसार अतिरिक्त महिना अर्थात मलमासलाई भगवान् विष्णुको पुरुषोत्तम स्वरुपसँग जोडेर हेर्ने गरिन्छ । यस अवधिमा स्नान, दान, पूजा र धार्मिक अनुष्ठान गरे विशेष पुण्य प्राप्त हुने विश्वास छ । यही कारण पुरुषोत्तम मास सुरु भएसँगै मिथिला क्षेत्रमा धार्मिक गतिविधि बढ्ने गरेका जानकार डा. भोगेन्द्र झाको भनाइ छ।गेरुका धाममा स्नान गर्न आउने धेरै श्रद्धालु भक्तजन आफूले मनोकामना पूरा भएको अनुभव सुनाउने गर्छ । कतिपय भक्तजन हरेक पुरुषोत्तम मासमा यहाँ आउने परम्परा निभाउँदै आएका छन्। वृद्धवृद्धादेखि युवायुवती र बालबालिकासम्मको सहभागिताले मेलालाई अझ जीवन्त बनाएको छ। गेरुका नदीको प्राकृतिक सौन्दर्य पनि आकर्षणको केन्द्र बनेको छ । हरियाली वातावरण, नदीको शान्त बहाव र धार्मिक वातावरणले यहाँ आउनेलाई आध्यात्मिक अनुभूति दिलाउने गरेको श्रद्धालुहरूको भनाइ छ।स्थानीयवासीहरूका अनुसार गेरुका धामको महत्व बढ्दै गए पनि यसको ऐतिहासिक तथा पुरातात्विक अध्ययन भने पर्याप्त हुन सकेको छैन । प्राचीन मिथिला सभ्यतासँग यसको सम्बन्धबारे विस्तृत अनुसन्धान आवश्यक रहेको उनीहरूको भनाइ छ।

    विशेषज्ञहरूका अनुसार धार्मिक आस्थासँग जोडिएका यस्ता स्थलको संरक्षण केवल धार्मिक दृष्टिले मात्र होइन, सांस्कृतिक सम्पदाको संरक्षणका हिसाबले पनि महत्वपूर्ण हुन्छ । उचित संरक्षण र प्रवद्र्धन गर्न सके गेरुका धाम मधेश प्रदेशकै पहिचानका रूपमा स्थापित हुन सक्ने सम्भावना देखिन्छ।आधुनिकता र प्रविधिको विस्तारसँगै मानिसको जीवनशैली परिवर्तन हुँदै गए पनि परम्परागत धार्मिक विश्वास र सांस्कृतिक सम्बन्ध भने अझै मजबुत रहेको यहाँको द‌ृश्यले देखाउँछ। एक महिनासम्म सञ्चालन हुने गेरुका स्नान मेलाले धार्मिक वातावरणलाई मात्र होइन, सम्पूर्ण क्षेत्रको सामाजिक तथा आर्थिक गतिविधिलाई पनि चलायमान बनाउने अपेक्षा गरिएको छ।धार्मिक आस्था, मिथिला सभ्यता, सांस्कृतिक विरासत र जनविश्वासको अनुपम संगमका रूपमा रहेको गेरुका धाम अहिले फेरि लाखौँ श्रद्धालु भक्तजनको केन्द्र बनेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend