बेइजिङ । यतिबेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीनको राजधानी बेइजिङको भ्रमणमा रहेका छन् । पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबिच बेइजिङमा भएको विस्तारित वार्तामा दुई देशले द्विपक्षीय सहकार्य अझ विस्तार गर्ने सहमति व्यक्त गरेका छन् ।वार्ताका क्रममा रुस र चीनले द्विपक्षीय सहकार्य विकास गर्ने तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सँगै काम गर्ने पुटिनले बताएका छन् । यसले ब्रिक्स जस्ता अन्तर्राष्ट्रिय समूहमा दुई देशको समन्वयलाई सङ्केत गरेको विश्लेषण गरिएको छ ।पुटिनले वार्ता सार्थक भएकाे भन्दै रुस–चीन साझेदारीलाई उदाहरणीय सम्बन्धको रूपमा वर्णन गरेका छन् । दुई देशको साझा लक्ष्य रुसी र चिनियाँ जनताको समृद्धि रहेको पनि उनले बताए ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार वार्ताका क्रममा रुस–चीन बिचकाे सम्बन्ध अझ प्रगति र तीव्र विकासको नयाँ चरणमा प्रवेश गरेको राष्ट्रपति सीले बताएका छन् । सीले बेइजिङ दीर्घकालीन, स्थिर र स्वस्थ सम्बन्धलाई अटल रूपमा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको दोहोर्याए ।उनले दुई देशबिचको पारस्परिक विश्वासको आधार अझ बलियो हुँदै गएको पनि बताए । ‘वाइड फर्म्याट मिटिङ’ भनिएको विस्तारित बैठक स्थानीय समयअनुसार दिउँसो सुरु हुने तय भए पनि करिब एक घण्टा ढिला गरी प्रारम्भ भएको थियो ।भेटवार्तामा ऊर्जा, व्यापार, अन्तर्राष्ट्रिय राजनीति तथा बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको अनुमान गरिएको छ ।




.gif)



