images

२०८३ आश्विन १८ गते

images
images
images

अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन

अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन

images
images
बुधवार, जेठ ६ २०८३
बुधवार, जेठ ६ २०८३
  • अमेरिका, ६ जेठ । अमेरिकाको कोलोराडोमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा यही मे २२ देखि २४ तारिखसम्म नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना हुने भएको छ ।

    images
    images

    सम्मेलनमा नेपालसहित विश्वका विभिन्न मुलुकबाट करिब १२५ जना साहित्यकार, लेखक तथा पत्रकारको सहभागिता रहने जनाइएको छ । साथै, कोलोराडो राज्यमा रहेका ५० भन्दा बढी स्रष्टा तथा साहित्यप्रेमीहरूको पनि सम्मेलनमा उपस्थिति रहने अनेसासले जनाएको छ ।

    अनेसासका महासचिव राजु सिटौलाले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताए । सम्मेलनमा ५३ हजार अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । मे २२ मा सम्मेलनका सहभागीहरूलाई स्वागत तथा विशेष रात्रिभोज आयोजना गरिनेछ भने सम्मेलनको औपचारिक उद्घाटन मे २३ मा हुनेछ ।

    images
    images

    सम्मेलनको पहिलो दिन ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’ शीर्षकमा मदन पुरस्कार विजेता नीलम कार्की निहारिका, पत्रकार तथा लेखकद्वय सुधीर शर्मा र बसन्त बस्नेतबीच विशेष बहस कार्यक्रम सञ्चालन हुनेछ । उक्त सत्रको सहजीकरण पत्रकार नारायण श्रेष्ठले गर्नुहुनेछ ।

    मे २३ र २४ मा सञ्चालन हुने विभिन्न सत्रहरूमा ख्यातिप्राप्त साहित्यकार तथा लेखकहरूबीच साहित्यका विविध विधामा बहस, छलफल तथा अन्तरक्रिया आयोजना गरिनेछ । सम्मेलनका दुई दिन बिहान योग अभ्यास तथा साँझ काव्य उत्सवसमेत आयोजना गर्ने गरि कार्यक्रम तय गरिएको  छ ।

    सम्मेलनको अन्तिम दिन विभिन्न सहयोगी व्यक्ति तथा सङ्घ संस्थाहरूलाई सम्मान गरिने नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनका मिडिया संयोजक दीर्घराज उपाध्यायले बताए। सम्मेलनका अवसरमा विभिन्न जातजाति तथा समुदायका सांस्कृतिक झाँकी, लोकसंस्कृति तथा सांगीतिक कार्यक्रम समेत प्रस्तुत गरिनेछन् ।

    संयोजक उपाध्यायका अनुसार सम्मेलनको अन्तिम दिन सहभागी अतिथिहरूलाई कोलोराडोका ऐतिहासिक तथा पर्यटकीय गन्तव्यहरूको भ्रमण गराउने कार्यक्रमसमेत तय गरिएको छ । प्रवासी भूमिमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन नेपाली साहित्यिक जगत्को महत्वपूर्ण साझा मञ्चका रूपमा स्थापित हुँदै गएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend