images

२०८३ आश्विन १८ गते

images
images
images

डिडिसी चिजको बजार प्रवर्धन हुने अपेक्षा

डिडिसी चिजको बजार प्रवर्धन हुने अपेक्षा

images
images
आइतवार, जेठ ३ २०८३
आइतवार, जेठ ३ २०८३
  • काठमाडौँ, ३ जेठ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) द्वारा उत्पादन हुने याक चिजको बजार प्रवर्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह ले शनिबार सामाजिक सञ्जालमार्फत डिडिसीको याक चिजसहितको तस्बिर सार्वजनिक गरेपछि स्वदेशी उत्पादनप्रति आमचासो बढेको हो।

    images
    images

    प्रधानमन्त्री शाहले आफ्नो आधिकारिक फेसबुकमार्फत “से चिज, डिडिसीको चिज” भन्ने सन्देशसहित तस्बिर सार्वजनिक गरेका थिए। उक्त पोस्टपछि नेपाली उत्पादनको प्रवर्धनमा सहयोग पुग्ने विश्वास डिडिसीले गरेको छ।

    डिडिसीले उच्च हिमाली क्षेत्रमा पालिने चौँरीको दूधबाट उच्च गुणस्तरको याक चिज उत्पादन गर्दै आएको छ। संस्थानका अनुसार वार्षिक करिब ३६ हजार केजी याक चिज उत्पादन हुने गरेको छ। देशभर रहेका १४ वटा चिज उत्पादन केन्द्रमध्ये आठ केन्द्रबाट याक चिज उत्पादन गरिन्छ।

    images
    images

    डिडिसीका सूचना अधिकारी नीलकण्ठ गौतमले प्रधानमन्त्रीले याक चिज प्रयोग गरेको तस्बिर सार्वजनिक गरेपछि बजार विस्तारमा सकारात्मक प्रभाव पर्ने बताए। उनका अनुसार हिमाली क्षेत्रमा उत्पादन हुने भएकाले याक चिज अन्य चिजको तुलनामा महँगो पर्ने गर्दछ।

    डिडिसीले रसुवाको लाङटाङ, चन्दनबारी र गोसाइँकुण्ड, दोलखाको चोर्दुङ, रामेछापको थोदुङ र देउराली, सोलुखुम्बुको पिके, इलामको पशुपतिनगर र फिक्कल तथा पाँचथरको पौवाभञ्ज्याङलगायत क्षेत्रमा चौँरीको दूध सङ्कलन गरी चिज उत्पादन गर्दै आएको जनाएको छ।

    संस्थानका अनुसार वार्षिक ५५ लाखदेखि ६० लाख रुपैयाँ बराबरका तीन प्रकारका चिज बिक्री हुने गरेको छ। यी उत्पादन मुख्यतः आन्तरिक बजारमै खपत हुने गरेका छन्। डिडिसीले याक चिज, कञ्चन चिज र मोजरेल्ला चिज उत्पादन गर्दै आएको छ। याक चिज चौँरीको दूधबाट, कञ्चन चिज गाई तथा भैँसीको दूधबाट उत्पादन गरिन्छ।

    हाल याक चिज प्रतिकिलो एक हजार ८८० रुपैयाँ, कञ्चन चिज प्रतिकिलो एक हजार २०० रुपैयाँ तथा मोजरेल्ला चिज प्रतिकिलो ९०० रुपैयाँमा बिक्री भइरहेको डिडिसीले जनाएको छ। यी चिजहरू डिडिसीका विभिन्न बिक्री केन्द्रमार्फत उपलब्ध छन्।

    विदेशी पर्यटकले याक चिज बढी रुचाउने भएकाले पर्यटकीय क्षेत्रमा यसको माग उच्च रहने गरेको संस्थानले जनाएको छ। चैतदेखि कात्तिकसम्म उत्पादन हुने चिज चिसो मौसम सुरु भएसँगै उत्पादन बन्द गरिने गरिएको छ।

    डिडिसीले चिजका अतिरिक्त दूध, दही, घिउ, आइसक्रिम, बटर र पनिरसमेत उत्पादन तथा बिक्री गर्दै आएको छ। निजी क्षेत्रका उद्योगहरूले पनि पछिल्लो समय चिज उत्पादनमा सक्रियता बढाउँदै लगेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend