हेटौँडा, २ जेठ । हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३० करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा उपमहानगरपालिकाले लक्ष्यको ५८ प्रतिशत राजस्व उठाएको जनाएको छ ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि ५२ करोड ७६ लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । साउनदेखि वैशाखसम्मको अवधिमा ३० करोड ७० लाख ५३ हजार ८०३ रुपैयाँ राजस्व सङ्कलन भएको प्रशासन महाशाखा प्रमुख तथा उपनिर्देशक जगन्नाथ अर्यालले जानकारी दिए ।
उपमहानगरपालिकाका अनुसार सबैभन्दा बढी राजस्व एकीकृत सम्पत्ति करबाट उठेको छ । यस शीर्षकबाट ६ करोड ९४ लाख ३४ हजार रुपैयाँ सङ्कलन भएको छ । त्यसैगरी घरबहाल करबाट ४ करोड ७१ लाख ५ हजार रुपैयाँ, पूर्वाधार सेवा उपयोग करबाट ३ करोड २४ लाख ४९ हजार रुपैयाँ, अन्य बिक्रीबाट ३ करोड ७१ लाख ३९ हजार रुपैयाँ तथा बहाल–बिटौरी करबाट २ करोड ५० लाख ६९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
त्यस्तै सिफारिस दस्तुरबाट २ करोड ३८ लाख ५५ हजार रुपैयाँ, व्यवसाय करबाट २ करोड १७ लाख १४ हजार रुपैयाँ तथा नक्सापास दस्तुरबाट १ करोड ७६ लाख ८७ हजार रुपैयाँ राजस्व उठेको छ ।
उपमहानगरपालिकाले अन्य सेवा शुल्क तथा बिक्रीबाट ९२ लाख ५५ हजार रुपैयाँ, दहत्तर–बहत्तरबाट ४३ लाख ९४ हजार रुपैयाँ, प्रशासनिक दण्ड जरिवानाबाट ३८ लाख ४८ हजार रुपैयाँ तथा अन्य प्रशासनिक सेवा शुल्कबाट ३५ लाख ७२ हजार रुपैयाँ सङ्कलन गरेको जनाएको छ ।
यस्तै विद्युत सेवा शुल्कबाट १९ लाख ६५ हजार रुपैयाँ, अन्य दस्तुरबाट १४ लाख ८४ हजार रुपैयाँ, विज्ञापन करबाट २४ लाख ५५ हजार रुपैयाँ तथा मनोरञ्जन करबाट १ लाख २० हजार रुपैयाँ राजस्व उठेको छ ।
शिक्षा क्षेत्रको आम्दानी ५ लाख ७७ हजार रुपैयाँ, भूमिकर तथा मालपोतबाट ४ लाख ५६ हजार रुपैयाँ, सरकारी सम्पत्ति बहालबाट १ लाख ३६ हजार रुपैयाँ तथा न्यायिक दण्ड जरिवानाबाट ८६ हजार रुपैयाँ सङ्कलन भएको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसक्नुको मुख्य कारण आर्थिक गतिविधि प्रभावित हुनु रहेको जनाएको छ । बाँकी अवधिमा लक्ष्यअनुसार राजस्व उठाउन नगर प्रहरी परिचालन गरी व्यवसाय दर्ता तथा कर तिर्न आग्रह गरिएको प्रशासन महाशाखा प्रमुख अर्यालले बताए ।
उनका अनुसार १९ वटै वडामा नगर प्रहरी परिचालन गरी करदातालाई समयमै कर बुझाउन आग्रह गरिएको छ । कर तिर्न प्रोत्साहन गर्न माइकिङ, फोन तथा मोबाइल सन्देशमार्फत सूचना दिने कार्य भइरहेको छ भने असल करदातालाई सम्मान तथा पुरस्कारको व्यवस्था पनि गरिएको छ ।
राजस्व सङ्कलन बढाउन सहज र सुलभ सेवा प्रवाहमा विशेष जोड दिइएको तथा नगर प्रमुखसहितको घरदैलो अभियान सञ्चालन गर्ने तयारीसमेत गरिएको उपमहानगरपालिकाले जनाएको छ ।




.gif)





