काठमाडौँ, ३१ वैशाख । आज बिहीबार, अर्थात् जेठ कृष्ण पक्षको द्वादशी तिथि तथा सन् २०२६ मे १४ तारिख परेको छ। हिन्दु धर्मावलम्बीहरूले आज देवताका गुरु बृहस्पति तथा भगवान श्रीहरि विष्णुको विशेष पूजा–आराधना गर्दै व्रत बस्ने गर्दछन्।
धार्मिक मान्यता अनुसार बिहीबारको व्रत बस्दा धन, पुत्र तथा विद्याको प्राप्ति हुने विश्वास रहिआएको छ। यस दिन भगवान विष्णुसँगै माता लक्ष्मीको पूजा गर्नाले घरमा सुख, शान्ति र समृद्धि कायम रहने जनविश्वास छ।
यो व्रत विशेषगरी शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्ने परम्परा रहेको छ। उक्त दिन अनुराधा नक्षत्र परेमा झन् शुभ मानिने धार्मिक विश्वास छ। व्रतालुले १३ महिना वा कम्तीमा सात महिनासम्म यो व्रत निरन्तर गर्ने चलन रहेको छ।
कसरी गर्ने पूजा ?
बिहान सबेरै स्नान गरी शुद्ध भएर पहेँलो वस्त्र धारण गर्ने प्रचलन छ। त्यसपछि पहेँलो फूल र चन्दन मिसाएर प्रसाद तयार गरी भगवान विष्णुलाई अर्पण गरेर पूजा गरिन्छ।
व्रतको दिन ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तीमा पाँच माला जाप गर्नुपर्ने धार्मिक मान्यता रहेको छ। श्रद्धापूर्वक पूजा–आराधना गरेमा भगवान विष्णुको कृपा प्राप्त हुने र परिवारमा सुख–समृद्धि कायम रहने विश्वास गरिन्छ।




.gif)





